काठमाडौं । भोटेकोसीमा आएको बाढीका कारण प्रारम्भिक मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ पुनः दर्शकमाझ आउने भएको छ। मंसिर ४ देखि १९ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक मञ्चन हुने निर्माण पक्षले जनाएको छ। यससँगै नाटकको औपचारिक ट्रेलर पनि युट्युबमा सार्वजनिक गरिएको छ।
गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकलाई वरिष्ठ रङ्गकर्मी अशेष मल्लले परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन गरेका हुन्। नाटकको ट्रेलर बनाएर सार्वजनिक गर्ने अभ्यास कमै देखिने नेपाली रङ्गमञ्चमा ‘वीर गणेशमान’ को ट्रेलर औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजेको अतिरिक्त शो पनि सञ्चालन हुनेछ।
गणेशमान सिंहको जीवन, संघर्ष र राजनीतिक अडानलाई केन्द्रमा राखेर तयार गरिएको नाटकमा राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले गरेको संघर्षदेखि २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक निर्णयसम्मका घटनालाई समेटिएको छ। जन्मकैदको सजाय पाएपछि भद्रगोल जेलबाट भागेको प्रसंग पनि नाटकको महत्त्वपूर्ण हिस्सा हो।
करिब दुई घण्टा लामो नाटकको स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतिले गरेकी हुन्। निर्देशक मल्लले आफ्नो ५० वर्ष लामो नाट्ययात्रामा पहिलोपटक बिम्ब र प्रतीकभन्दा फरक यथार्थपरक शैलीमा नाटक तयार पारेका छन्।
नाटकमा गणेशमान सिंहको भूमिकामा अभिनेता अभयराज बराल छन्। अघिल्लो मञ्चनमा उनको अभिनयले दर्शकको प्रशंसा पाएको थियो। उनको शारीरिक बनावट र प्रस्तुतिमा गणेशमान सिंहकै झल्को आएको प्रतिक्रिया दर्शकले दिएका थिए।
नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको अभिनय छ।
भदौमा आयोजित प्रिमियरमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले नयाँ पुस्ताका लागि यो नाटक महत्त्वपूर्ण रहेको बताएका थिए। नेपालमा पूर्ण प्रजातन्त्र स्थापनाको प्रक्रिया र त्यसमा गणेशमान सिंहको योगदान बुझ्न युवा पुस्ताले नाटक हेर्नुपर्ने उनको भनाइ थियो।