काठमाडौं । सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको फिल्म ‘पच्चीस पच्चीस’ को कलाकार टिम पूरा भएको छ। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्म छिट्टै छायांकनमा जाने तयारीमा छ।
गत साउनमा निर्माण घोषणा गरिएको फिल्ममा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतम अनुबन्धित भएका छन्।
दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर भक्ते भाइले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्दैछन्। सामाजिक–कमेडी विधामा बन्न लागेको फिल्मले मनोरञ्जनसँगै नेपाली समाजसँग जोडिएको कथा प्रस्तुत गर्ने निर्देशक आचार्यको भनाइ छ।
‘पच्चीस पच्चीस’ सुब्रत आचार्यको तेस्रो निर्देशन फिल्म हो। यसअघि उनले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए। फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाको छ। हरि हुमागाईंले छायांकन निर्देशन सम्हाल्नेछन्।
कर्ण कार्की निर्माता रहेको फिल्ममा दीपेन्द्र गौतम कार्यकारी निर्माता छन्। धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह–निर्माता तथा सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसर छन्। ‘होस्टेल ३’ मार्फत गत वर्ष फिल्म निर्माणमा प्रवेश गरेका कार्कीका लागि यो दोस्रो निर्माण हो।