मंसिर १८ गते रिलिज हुने ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक

0 Shares

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ‘बाँसैको सुप्लाखे’ गीत सार्वजनिक गरेपछि आज फिल्मको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडाका भाव समेटिएका छन् ।

मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुवातमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी देखाइएको छ । त्यसपछि कथामा द्वन्द्व सिर्जना गर्न एन्टागोनिस्टका रूपमा विनोद न्यौपानेको प्रवेश हुन्छ ।

उनको प्रवेशसँगै वियोगमा फसेका विजयको अवस्था तथा अञ्जनाले भोगेको धोका र त्यसपछिको पीडा टिजरमा प्रस्तुत गरिएको छ ।

प्रेमिल कथा र घटनाक्रमबाट अघि बढ्ने टिजर धोका र त्यसले कलाकारमा सिर्जना गर्ने भावनात्मक उतारचढावसँगै टुंगिन्छ । गाउँको परिवेश र सेटअपले दर्शकलाई नोस्टाल्जिक बनाउँछ ।

‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा नेपाली बक्सअफिसका ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइलीको अभिनय छ । उनीहरूको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले नेपाली फिल्म इतिहासकै सर्वाधिक सफल फिल्म मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।

फिल्ममा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता छन् भने सुमन रञ्जित एसोसिएट निर्माता र अनिश अधिकारी लाइन निर्माता हुन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशक छन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ ।

मंसिर १८ गते रिलिज हुने फिल्मको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । बिग मुभिज थिएटर पार्टनर रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो ।

सम्बन्धित समाचार

सबै