‘जलाकी’लाई क्युएफएक्समा २७ शो, अग्रिम बुकिङ सुरु

0 Shares

काठमाडौं । अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’को अग्रिम टिकट बुकिङ सुरु भएको छ । ‘खुस्मा’ फेम्ड निर्देशक मगरको दोस्रो निर्देशकीय फिल्मको बुकिङ बुधबारदेखि क्युएफएक्स, आईएनआई सिनेमाज र वान सिनेमाजलगायत मल्टिप्लेक्समा खुलेको हो ।

क्युएफएक्सले फिल्मलाई प्रारम्भिक चरणमा उपत्यका र बाहिरका हलमा गरी २७ शो दिएको छ । अन्य मल्टिप्लेक्सले भने टिकट बुकिङ खुलाउन बाँकी छ ।

यसैबीच, ‘जलाकी’ले मंगलबार सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्सरका सदस्यहरूले फिल्मको प्रशंसा गरेको निर्देशक अशोक थापा मगरले बताएका छन् ।

टिजर, ट्रेलर र गीत सार्वजनिक भएपछि फिल्मले दर्शकमाझ चर्चा पाएको छ । प्रचार सामग्रीप्रति दर्शकले देखाएको चासो फिल्मले पनि पाउनेमा निर्देशक मगर आशावादी छन् ।

उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा रहेको फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकार छन् । क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिँदा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर बालकलाकारका रूपमा छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता छन् ।

फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन् ।

सम्बन्धित समाचार

सबै