नेपाल ग्लोबल फिल्म फेस्टिभलको पहिलो संस्करणमै ५०० फिल्म प्राप्त

0 Shares

काठमाडौं । नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजीएफएफ) २०२७ को पहिलो संस्करणमै विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी फिल्म प्राप्त भएका छन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने र नेपाललाई विदेशी फिल्म निर्माणको गन्तव्यका रूपमा चिनाउने उद्देश्यले आयोजना हुन लागेको महोत्सवको तयारी अहिले तीव्र पारिएको छ ।

नेपाल फिल्म एण्ड मिडिया एकेडेमीले आयोजना गर्ने महोत्सव सन् २०२७ फेब्रुअरी १९ देखि २२ अर्थात् फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ । आयोजकका अनुसार महोत्सवमा विभिन्न देशका करिब १०० फिल्मकर्मी, सञ्चारकर्मी तथा फिल्म उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् ।

‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ नारासहित आयोजना हुने महोत्सवमा प्राप्त ५०० भन्दा बढी फिल्ममध्ये करिब १०० वटा छनोट गरी प्रदर्शन गरिनेछ । निर्देशक सुवर्ण थापाको नेतृत्वमा रहेको छनोट समितिले फिल्म चयन गर्नेछ । छनोट भएका फिल्मलाई निर्देशक अशोक शर्माको नेतृत्वमा रहने नेपाली तथा विदेशी जुरीले मूल्यांकन गर्नेछन् । उत्कृष्ट फिल्म तथा फिल्मकर्मीलाई नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै प्राप्त फिल्मको संख्या उत्साहजनक रहेको बताए । उनका अनुसार यसले अन्तर्राष्ट्रिय फिल्म क्षेत्रको महोत्सवप्रतिको चासो र विश्वासलाई प्रतिबिम्बित गरेको छ । नेपालकै एउटा ठूलो अन्तर्राष्ट्रिय फिल्म महोत्सव बनाउने लक्ष्यसहित आफूहरू अघि बढेको उनले बताए ।

महोत्सवमा फिचर, सर्ट, डकुमेन्ट्री, माउन्टेन, वातावरण, मानवशास्त्र, मानवअधिकार र महिला विषयवस्तुमा आधारित फिल्म प्रदर्शन गरिनेछ । आदिवासी जनजातिका कथा तथा संस्कृति, एनिमेसन, विद्यार्थी फिल्म र एआईमा आधारित सिर्जनालाई पनि प्राथमिकता दिइनेछ ।

हलिउड, बलिउड र चिनियाँ फिल्म क्षेत्रका चर्चित व्यक्तित्वलाई अतिथिका रूपमा सहभागी गराउने तयारी आयोजकको छ । आयोजक समितिका सदस्य फूलमान बलका अनुसार महोत्सवका चार दिन फिल्म प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, कार्यशाला, प्यानल छलफल र अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम पनि हुनेछन् ।

महोत्सवको उद्देश्य नेपाली फिल्म, प्रतिभा र सिर्जनालाई विश्व बजारमा पुर्‍याउनुका साथै विदेशी निर्माता तथा निर्देशकलाई नेपालमा फिल्म निर्माणका सम्भावनाबारे जानकारी गराउनु हो । यसले फिल्म पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य र विदेशी लगानीका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथालाई विश्व फिल्म बजारमा चिनाउने लक्ष्य पनि महोत्सवले राखेको छ । युनेस्को क्रिएटिभ सिटी अफ फिल्मको अवधारणासँग जोडेर काठमाडौंलाई अन्तर्राष्ट्रिय फिल्म सिर्जना र सांस्कृतिक आदानप्रदानको केन्द्र बनाउने योजनासमेत आयोजकको छ ।

महोत्सवलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म उत्सवका रूपमा विकास गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म संस्था, कूटनीतिक नियोग, शैक्षिक संस्था, पर्यटन क्षेत्र र निजी क्षेत्रसँग सहकार्यका लागि छलफल भइरहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

सबै