नेपाली अभिनेता अरुण क्षेत्री अन्तर्राष्ट्रिय फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’को पुरुष मुख्य भूमिकामा अनुबन्ध भएका छन्। नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा बन्न लागेको यस फिल्मलाई बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सले निर्माण गर्नेछन्।
दक्षिण कोरियाली निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङको लेखन तथा निर्देशन रहने फिल्ममा काठमाडौँ फिल्म्सका संस्थापक चन्दन झा नेपाली सहनिर्माताका रूपमा रहनेछन्।
रोमान्टिक कमेडी र सुपरनेचुरल विधाको यो फिल्ममा के-ड्रामाको स्वाद पनि अनुभव गर्न पाइनेछ। पूर्व कोरियाली के-पप स्टार र युवा नेपाली गुरु तथा होटल सञ्चालकबीचको अनपेक्षित प्रेम सम्बन्धमा फिल्मको कथा केन्द्रित हुनेछ। प्रेम, हास्य र रहस्यलाई समेट्दै आधुनिक सेलिब्रेटी संस्कृति तथा नेपालको आध्यात्मिक परिवेशलाई फिल्ममा जोडिनेछ।
फिल्ममा महिला मुख्य भूमिकाका लागि दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्। उनको नाम भने पछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताएकी छन्।
फिल्मको निर्माण टोलीमा छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल र क्रिएटिभ तथा कास्टिङ डाइरेक्टर, भाषा तथा अभिनय प्रशिक्षक एवं क्यारेक्टर डाइरेक्टर उत्पल झा रहेका छन्।
नेपाललाई हिमाल र पदयात्राको परिचित छविभन्दा फरक रूपमा प्रस्तुत गर्ने उद्देश्य फिल्मले राखेको छ। आध्यात्मिकता, सामान्य जीवन र अलौकिक प्रेमकथाको संयोजनमार्फत नेपालको मौलिक परिवेशलाई पर्दामा उतार्ने निर्देशक ह्वाङको योजना छ।
नेपालसँगको आफ्नो सम्बन्धबारे निर्देशक ह्वाङले विगतका वर्षमा पटक–पटक नेपाल भ्रमण गर्दा यहाँको वातावरण र मानिसहरूसँग आत्मीयता बढेको बताएकी छन्। नेपालको आकर्षण, अनौठोपन र आध्यात्मिक पक्षलाई आफ्नै सिनेम्याटिक दृष्टिकोणबाट प्रस्तुत गर्न चाहेको उनको भनाइ छ।
सहनिर्माता चन्दन झाका अनुसार फिल्मलाई विश्वव्यापी थिएटर प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल लक्षित गरी निर्माण गरिनेछ। नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई लक्षित गरिएको फिल्म पछि स्ट्रिमिङ प्लेटफर्ममा समेत उपलब्ध गराउने योजना छ।
फिल्मको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि मार्चसम्म नेपालमा गर्ने प्रारम्भिक तयारी छ। दक्षिण कोरियाली महिला मुख्य कलाकारसहित अन्य कलाकार तथा निर्माण टोलीका सदस्यहरूको नाम आगामी दिनमा सार्वजनिक गरिनेछ।
