निखिल उप्रेती र वर्षा सिवाकोटी अभिनीत फिल्म ‘कस्तुरी’को छायांकन पुनः सुरु भएको छ । काठमाडौंमा फिल्मको अन्तिम चरणको छायांकन थालिएको निर्माण टिमले जनाएको छ ।
फिल्मको करिब ९० प्रतिशत छायांकन पूरा भइसकेको छ । बाँकी १० प्रतिशत काम पनि चाँडै सक्ने लक्ष्यसहित निर्माण टिम जुटेको छ । प्रतिकूल परिस्थितिका कारण छायांकनमा केही ढिलाइ भए पनि अब कामले गति लिने निर्माण पक्षको भनाइ छ ।
ऋत बोहोराले निर्देशन गरेको फिल्ममा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय छ । गौरव पहारी र हेना नगरकोटी क्यामियो भूमिकामा देखिनेछन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको लेखन तथा निर्देशन बोहोराकै हो । धिरजकुमार अग्रवाल निर्माता र अञ्जली चौधरी सहनिर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, प्रशान्त सिवाकोटीको संगीत र ललित विष्टको सहायक निर्देशन रहनेछ । फिल्मको निर्माण व्यवस्थापन दिलीप पन्तले सम्हालेका छन् ।