पूजा शर्मा र कविता नेपालीको मुख्य भूमिका रहने एक्सन फिल्म ‘एक्का तीन’को शुभमुहूर्त गरिएको छ । बिहीबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको निर्माण थालिएको हो ।
मंसिर २५ गतेदेखि छायांकनमा जाने फिल्ममा सुशील श्रेष्ठ, बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायत कलाकारको अभिनय रहनेछ । फिल्ममार्फत आयशा तामाङले अभिनेत्रीका रूपमा डेब्यू गर्दैछिन् ।
जुना फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्देशन रुपेश तामाङले गर्नेछन् । यसअघि उनले एक्सनप्रधान फिल्म ‘जय भोले’ र ‘दान्भी’ निर्देशन गरेका थिए । रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ निर्माता तथा राजु श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् ।
दुई श्रृंखलामा निर्माण गर्ने योजना रहेको फिल्ममा सौरभ लामा छायांकन, अर्जुन पोखरेल र सन्तोष प्रगाढ संगीत, साहिल खान सम्पादन तथा राजु किराँती द्वन्द्व निर्देशनमा रहनेछन् । रविन बानियाँले निर्माण व्यवस्थापन सम्हाल्नेछन् । काठमाडौं र चितवनमा छायांकन गरिने फिल्म सन् २०२७ मा प्रदर्शन गर्ने तयारी छ ।