सामाजिक हास्य कथामा बन्न लागेको फिल्म ‘पच्चीस पच्चीस’को छायांकन सुरु भएको छ। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको बुधबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरिएको हो।
शुभ मुहूर्तपछि फिल्मको छायांकन पनि सुरु गरिएको निर्देशक सुब्रत आचार्यले जानकारी दिए। उनका अनुसार ४० दिनको छायांकन तालिका तय गरिएको छ।
फिल्ममा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकार देखिनेछन्। दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाका लागि भने यो डेब्यु फिल्म हुनेछ।
निर्देशक आचार्यका लागि ‘पच्चीस पच्चीस’ तेस्रो फिल्म हो। यसअघि उनले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए। फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाको छ। हरि हुमागाईंले छायांकन निर्देशन सम्हाल्नेछन्।
कर्ण कार्कीले निर्माण गर्ने फिल्मका कार्यकारी निर्माता दिपेन्द्र गौतम हुन्। धिरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माता छन्। सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसरका रूपमा छन्। कर्ण कार्कीले यसअघि ‘होस्टल ३’ निर्माण गरेका थिए।