कर्णालीलाई फिल्म पर्यटनको गन्तव्य र छायांकन हबका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चौथो संस्करण आगामी फागुन २३ गतेदेखि सुरु हुने भएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले २०८३ फागुन २३ गते दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै किफको उद्घाटन गरिने जानकारी दिएको हो।
महोत्सवअन्तर्गत फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा फिल्म संवाद, विशेष फिल्म प्रदर्शन र ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ भिडियो प्रतियोगिता आयोजना हुनेछ।
त्यस्तै, कर्णाली अन्तर्राष्ट्रिय फिल्म अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुनेछ। महोत्सवको अर्को कार्यक्रमका रूपमा सन् २०२७ को मे महिनामा भारतको सिक्किम र सिलिगुडीमा नेपाल–भारत पर्यटन तथा फिल्म सहकार्य संवाद आयोजना गरिने महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए।
कर्णालीका प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, स्थानीय संस्कृति र मौलिक कथालाई अन्तर्राष्ट्रिय फिल्म क्षेत्रसम्म पुर्याउने महोत्सवको मुख्य लक्ष्य छ। आयोजकले कर्णालीमा फिल्म पर्यटनको ठूलो सम्भावना रहे पनि त्यसको उपयोग हुन नसकेको जनाएको छ।
‘जनजनमा नेपाली फिल्म, मनमनमा नेपाली फिल्म’ नारासहित सुरु गरिएको ‘गन्तव्य कर्णाली’ अभियानले स्थानीय कथा, भाषा, भेषभूषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई पनि प्राथमिकता दिएको छ।
महोत्सवले कर्णालीका स्थानीय कलाकार तथा फिल्मकर्मीलाई पहिचान दिलाउने, गाउँगाउँमा नेपाली फिल्म प्रदर्शन गर्ने, फिल्म साक्षरता अभियान चलाउने र फिल्म क्षेत्रका चुनौतीबारे बहस गर्ने योजना बनाएको छ। पर्यटन र जलवायु परिवर्तनका विषयलाई समेट्ने फिल्मलाई विशेष सम्मान तथा प्रोत्साहन गरिने आयोजकले जनाएको छ।
रेडचेरी र टिमद्वारा सुरु गरिएको महोत्सव संघीय सरकार, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुँदै आएको छ।
महोत्सवको घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, गुराँस गाउँपालिका प्रमुख टोपबहादुर बिसी, दीपकराज गिरी, आकाश अधिकारी, रेखा थापा, प्रदीप खड्का, सन्तोष सेन, प्रेम पुरी, रामशरण पाठक र हिमेश पन्तलगायत सहभागी थिए।
महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीलाई फिल्म छायांकनका लागि आकर्षक गन्तव्य बनाउने अभियानलाई निरन्तरता दिइने बताए। उनका अनुसार स्थानीय कलाकार र फिल्मकर्मीको प्रवर्द्धनसँगै पर्यटन तथा जलवायु परिवर्तनका मुद्दा महोत्सवका प्राथमिकतामा रहनेछन्।
महोत्सवका सद्भावना दूत प्रदीप खड्काले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन किफले भूमिका खेलिरहेको बताए। सिनेमा र पर्यटनलाई एकसाथ अघि बढाउन महोत्सव प्रभावकारी माध्यम बन्ने उनको विश्वास छ।
अभिनेता तथा निर्देशक दीपकराज गिरीले कर्णालीको प्राकृतिक र सांस्कृतिक आकर्षणले आफूलाई लोभ्याउँदै आएको बताए। उनले आगामी दिनमा कर्णालीमै फिल्म छायांकन गर्न सकिने सम्भावनासमेत व्यक्त गरे।