प्रदीप खड्का स्टारर ‘२६ करोड’लाई ‘सुल्तान’ र ‘मर्दानी’ खिचेका छायाँकार आर्टुरले खिच्ने

0 Shares

फिल्म ‘२६ करोड’मा अन्तर्राष्ट्रिय अनुभव प्राप्त छायाँकार आर्टुर जुराव्स्की जोडिएका छन्। पोल्याण्डका जुराव्स्कीले बलिउडका चर्चित फिल्मदेखि एसियन तथा युरोपियन फिल्मसम्म छायांकन गरिसकेका छन्।

फिल्मको छायांकनका लागि उनी शनिबार नेपाल आइपुगेका हुन्। आइतबारदेखि निर्देशक विकास सुवेदीको नेतृत्वमा भइरहेको वर्कसपमा उनी पनि सहभागी भएका छन्। निर्माता सुभाष भुसालका अनुसार फिल्मको छायांकन मंसिर १५ गतेदेखि सुरु हुनेछ।

जुराव्स्कीले बलिउडमा सलमान खान अभिनीत ‘सुल्तान’, रानी मुखर्जीको ‘मर्दानी’ र सञ्जय दत्तको ‘भूमि’मा छायाँकारका रूपमा काम गरेका छन्। उनले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाका फिल्म उद्योगमा आफ्नो अनुभव विस्तार गरेका छन्।

पोलिस नेसनल फिल्म स्कुलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका जुराव्स्कीले छायांकन गरेका फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार र सम्मान प्राप्त गरेका छन्। उनी बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेम्याटोग्राफी मेन्टरका रूपमा पनि काम गरिसकेका छन्।

उनले अमेरिकी फिल्म ‘हेड टु लभ’, दक्षिण कोरिया–पोल्याण्डको संयुक्त फिल्म ‘व्हेयर वुड यू लाइक टु गो?’ लगायत ‘लोकाटोर्का’ र ‘इज् पोद प्रोंद’मा पनि छायांकन गरेका छन्।

नेपाली फिल्ममा भने जुराव्स्की र निर्देशक सुवेदीबीच यो दोस्रो सहकार्य हो। यसअघि उनले सुवेदी निर्देशित फिल्म ‘सिरजरा’मा काम गरेका थिए।

आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको ‘२६ करोड’मा प्रदीप खड्कासँगै सारा अरएल शाह मुख्य भूमिकामा देखिनेछिन्। सारा बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी हुन्।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको लेखन पनि निर्देशक सुवेदीले नै गरेका छन्। फिल्ममा उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुभाष भुसालको संगीत, हर्क साउदको शब्द र मनोज जोशीको निर्माण नियन्त्रण रहनेछ।

गत असोजको पहिलो साता मुम्बईको ‘ताज ल्याण्ड्स इन्ड’ होटलमा फिल्मको औपचारिक घोषणा गरिएको थियो। उक्त कार्यक्रममा अभिनेता विवेक ओबेरोय पनि उपस्थित थिए।

सम्बन्धित समाचार

सबै