‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार बिग मुभिजमा आयोजित कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरले प्रेम, कौडा र पितृसत्तात्मक सामाजिक संरचनाबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ । कौडाका कारण प्रेम सम्बन्धमा आउने संकट र त्यसले निम्त्याउने नियतिलाई ट्रेलरमा देखाइएको छ । तत्कालीन समाजमा पुरुषको अहंकारका कारण महिलाले भोग्नुपरेको विभेद र पितृसत्तात्मक व्यवस्थाको कथा फिल्मले भन्ने निर्देशक पौडेलले बताए ।
फिल्ममा विजय बराल ‘बाबुराम’, अञ्जना बराइली ‘लक्ष्मी’ र विनोद न्यौपाने ‘डिल्लीराम’को भूमिकामा छन् । ट्रेलरमा डिल्लीराम प्रेमकथाको मुख्य अवरोधका रूपमा देखिएका छन् ।
‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल र निर्देशक पौडेलको यो दोस्रो सहकार्य हो । अघिल्लो फिल्मबाट दर्शकमाझ बलियो छाप छाडेको यो जोडीले यसपटक भने फरक समय र परिवेशको कथा प्रस्तुत गर्दैछ ।
मंसिर १८ गते प्रदर्शन हुने फिल्मका यसअघि सार्वजनिक टिजर र गीतले पनि दर्शकको ध्यान खिचेका छन् । ट्रेलरले फिल्मको कथावस्तु र पात्रबीचको द्वन्द्वबारे थप संकेत गरेको छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखेका हुन् । फिल्ममा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारको अभिनय छ ।
सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता नेम महर्जन हुन् । यसको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ ।