पहिलो अडिसनमा असफल कैलालीकी गायत्री कसरी बनिन् ‘सारथी’ नायिका ?

0 Shares

पर्दामा देखिने रहर धेरैलाई हुन्छ, तर त्यो रहरलाई वास्तविकतामा बदल्ने आँट सबैले गर्न सक्दैनन् । गायत्री जोशीले भने आफ्नो रहरलाई पछ्याउने निर्णय गरिन् । कैलालीको पहलमानपुरमा हुर्किएकी उनी पढ्न काठमाडौं अभिनय सिक्न काठमाडौं आइन् । मण्डला र ओजस थिएटरमा अवसर खोज्दै अन्ततः सर्वनाम पुगिन् । त्यहाँ सिकिन्, नाटकमा अभिनय गरिन् र निर्देशकको नजरमा परिन् । एउटा नाटकले उनलाई फिल्मको ढोका खोलिदियो । आज उनी आफ्नो पहिलो फिल्म ‘सारथी’मार्फत दर्शकमाझ छिन् । अभिनयको रहरदेखि फिल्मको पर्दासम्म आइपुग्दाको उनको अनुभव कस्तो रह्यो त ? पढ्नुस्, अन्तरवार्ता :

 

फिल्म रिलिज हुँदैछ । कत्तिको उत्साहित हुनुहुन्छ ? नर्भसनेस पनि छ कि ?

उत्साह त भइहाल्छ । आफ्नो पहिलो फिल्म हो, त्यसैले नर्भस पनि छु । दुवै कुरा छ । अब हेरौँ, फिल्मले कस्तो गर्छ र दर्शकले कस्तो प्रतिक्रिया दिनुहुन्छ । उत्साह र नर्भसनेस दुवै महसुस भइरहेको छ ।

 

‘सारथी’मा काम गर्ने संयोग कसरी जुर्‍यो ?

म त्यतिबेला थिएटर गरिरहेकी थिएँ । थिएटरका कक्षाहरू सकिएपछि हाम्रो ब्याच प्रोडक्सन भएको थियो । त्यसमा मैले मुख्य भूमिका निर्वाह गरेकी थिएँ । हाम्रो नाटकको नाम ‘जब फूलले आँखा छ’ थियो ।

त्यही नाटक निर्देशक कुमार सरले हेर्नुभएको रहेछ । नाटकमा मैले निर्वाह गरेको पात्रमा उहाँले ‘सारथी’को एउटा क्यारेक्टरको झल्को देख्नुभएछ । त्यसपछि उहाँले मलाई अडिसनका लागि सम्पर्क गर्नुभयो ।

मैले सुरुमा डिजिटल प्लेटफर्ममार्फत अडिसन दिएँ । त्यसबेला मलाई क्यामेरा एंगललगायत प्राविधिक कुराको कुनै ज्ञान थिएन । त्यत्तिकै भिडियो बनाएर पठाएकी थिएँ । सुरुमा म छनोट हुन सकिनँ । तर, सरले फेरि अलि राम्रो भिडियो बनाएर पठाउन भन्नुभयो ।

त्यसपछि साथीहरूको सहयोग लिएर क्यामेरा एंगल मिलाउँदै भिडियो बनाएर पठाएँ । मैले धेरैवटा भिडियो पनि पठाएकी थिएँ । सरले सबै हेर्नुभएछ र अन्ततः म छनोट भएँ । त्यसपछि वर्कसप भयो र फिल्मको यात्रा सुरु भयो ।

 

अभिनय सिक्ने र कलाकार बन्ने रुचि कसरी जाग्यो ?

मलाई सानैदेखि अभिनयमा एकदमै रुचि थियो । तर, त्यसलाई गम्भीर रूपमा लिएकी थिइनँ । फिल्म हेर्दा कुनै दृश्यमा कलाकारले रुने, कराउने वा भावनात्मक अभिनय गर्ने गरेको देख्दा मलाई पनि त्यस्तै दृश्य गर्न मन लाग्थ्यो । अरूले त्यस्ता दृश्य गर्दा थकान महसुस गर्छन् होला, तर मैले गर्दा छुट्टै आनन्द, सन्तुष्टि र मनमा शान्ति महसुस गर्थें ।

तर, म कलाकार नै बन्छु भनेर सोचेकी थिइनँ । म कक्षा १० मा पढ्दा एसईईको तयारी गरिरहेको समयमा कोभिडका कारण लकडाउन भयो । त्यसबेला हामी परिवारका सबै सदस्य बसेर ‘अदालत’ र ‘सीआईडी’ हेर्थ्यौं । एकपटक मैले दाइलाई ती घटनाहरू वास्तविक हुन् कि अभिनय भनेर सोधेँ । उहाँले अभिनय हो भन्नुभयो । त्यसपछि अभिनय भन्ने कुरा के रहेछ भन्ने जिज्ञासा बढ्यो ।

बिस्तारै यसबारे खोज्न थालेँ । आफूलाई पनि अभिनय गर्न मन लाग्ने रहेछ भन्ने महसुस भयो । म कलाकार बन्नकै लागि जन्मिएकी हुँ कि जस्तो लाग्न थाल्यो ।

म दक्षिण भारतीय कलाकारको अभिनयबाट पनि निकै प्रभावित छु । उहाँका फरक–फरक र चुनौतीपूर्ण भूमिका हेरेर अभिनयप्रति थप प्रेरित भएँ । नेपाली कलाकारहरूको कामले पनि मलाई प्रभाव पारेको छ ।

 

कैलालीमै हुँदा अभिनय सिक्ने अवसर पाउनुभएन ?

मैले प्लस टु कैलालीकै पहलमानपुरमा पढेकी हुँ । त्यहाँ थिएटर थिएन । त्यसैले काठमाडौं आएपछि अभिनय सिक्ने अवसर खोज्न थालेँ । पढाइसँगै अभिनय कक्षा पनि लिन थालेँ । यसरी नै सर्वनाम थिएटरसम्म पुगेँ ।

 

सर्वनाम थिएटरसम्म कसरी पुग्नुभयो ?

सुरुमा म मण्डला थिएटरमा गएकी थिएँ । त्यतिबेला म स्नातक तहको चौथो सेमेस्टरमा पढ्दै थिएँ । तर, त्यहाँको कक्षा सुरु भइसकेको रहेछ । त्यसैले सहभागी हुन पाइनँ ।

त्यसपछि अन्य थिएटरमा पनि बुझ्न थालेँ । ओजस थिएटरमा पनि बुझ्दा मेरो बोर्ड परीक्षा चलिरहेको थियो । कक्षा छुट्ने भएकाले त्यहाँ भर्ना भइनँ ।

पछि सर्वनाम थिएटरमा सम्पर्क गरेँ । मेरो परीक्षा सकिएपछि कक्षा लिन मिल्छ कि भनेर सोधेँ । त्यहाँबाट परीक्षा सकेर भर्ना हुन आउन भन्नुभयो । सर्वनामकी रिसेप्सनिस्ट शान्ति दिदीले पनि सहयोग गर्नुभयो । परीक्षा सकिएकै दिन गएर भर्ना भएँ । सर्वनाममा २०८१ साल फागुन २ गतेदेखि अभिनय कक्षा सुरु भएको थियो भन्ने मलाई अझै राम्रोसँग याद छ ।

 

अभिनय सिक्न जाने निर्णय गर्दा परिवारबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

हाम्रो समाज र वातावरणले धेरै प्रभाव पार्छ । विशेषगरी छोरी मान्छेका लागि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै फरक छ ।

म आठ–नौ वर्षको हुँदा फिल्ममा हिरोइनहरूले नाचेको, राम्रो देखिएको देखेर मलाई पनि त्यस्तै बन्न मन लाग्थ्यो । म पनि हिरोइन बन्छु भन्दा केही नकारात्मक कुरा सुन्नुपरेको थियो । यो क्षेत्र ठीक होइन, यहाँ यस्तो हुन्छ भन्ने कुराले गर्दा मैले त्यो इच्छा मनबाटै हटाएकी थिएँ ।

पछि लकडाउनको समयमा फिल्महरू हेर्दै जाँदा अभिनयप्रतिको रुचि फेरि जाग्यो । थिएटर सिक्न जान्छु भन्दा परिवारले पनि केही आशंका व्यक्त गर्नुभएको थियो । यो क्षेत्रमा विभिन्न घटनाहरू सुनिने भएकाले उहाँहरू डराउनुभएको थियो ।

तर, मेरो विचारमा कुनै पनि क्षेत्रमा राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । आफू सही नियतले अगाडि बढिरहेको छ भने जुनसुकै क्षेत्रमा पनि आफ्नो बाटो बनाउन सकिन्छ । गलत नियत जहाँ पनि हुन सक्छ । त्यसैले आफ्नो सिद्धान्त र मूल्य मान्यतामा अडिग रहनुपर्छ भन्ने लाग्छ ।

मैले परिवारलाई आफू यही क्षेत्रमा अगाडि बढ्न चाहेको र गलत कुराविरुद्ध आफैँ उभिन सक्ने कुरा सम्झाएँ । बिस्तारै उहाँहरूलाई मनाउँदै गएँ । अहिले यहाँसम्म आइपुगेकी छु ।

‘सारथी’ कस्तो फिल्म हो ? यसले कस्तो कथा प्रस्तुत गर्छ ?

फिल्म भनेको समाजको ऐना हो । यसले समाजमा भइरहेका विभिन्न घटनालाई प्रतिबिम्बित गर्छ । हामीले थाहा पाएर पनि बेवास्ता गरिरहेका कतिपय घटना र नराम्रा परम्परालाई फिल्मले प्रस्तुत गरेको छ ।

‘सारथी’ले म्याग्दीको गुर्जा खानी भन्ने दुर्गम ग्रामीण क्षेत्रको कथालाई समेटेको छ । त्यहाँको जीवनशैली, मानिसहरूले गरिरहेको संघर्ष र उनीहरूले भोग्नुपरेका परिस्थितिलाई फिल्ममा देखाइएको छ ।

विशेषगरी त्यहाँको संस्कृति र परम्परा, आमा र छोराबीचको सम्बन्ध, उनीहरूले गर्ने त्याग र आफ्नो पहिचानका लागि गर्नुपर्ने संघर्ष फिल्मका महत्वपूर्ण पक्ष हुन् ।

मलाई लाग्छ, दर्शकले यस फिल्ममा नेपाली फिल्मभन्दा केही फरकपन पाउनुहुनेछ । दृश्य र छायांकनको शैली पनि फरक छ । दर्शकका रूपमा हेर्दा मलाई पनि त्यस्तै महसुस भएको थियो ।

फिल्मका हरेक कलाकारले कथालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । विशेषगरी निरुता म्यामले निर्वाह गर्नुभएको आमाको भूमिका निकै उत्कृष्ट छ । नेपाली मात्र होइन, अन्य फिल्महरूमा पनि मैले त्यस्तो किसिमको आमाको भूमिका कमै देखेकी छु ।

 

फिल्ममा तपाईंको भूमिका कस्तो छ ?

म फिल्मको एउटा अभिन्न हिस्सा हुँ । मैले निर्वाह गरेको पात्रबिना यो फिल्म अधुरो हुन्छ भन्ने लाग्छ ।

एउटा उदाहरण दिन चाहन्छु । हामीले तरकारी पकाउँदा धेरै मसला हाल्छौँ । तर, नुन हाल्न बिर्सियौँ भने तरकारी खाँदा नुनको महत्व कति रहेछ भन्ने महसुस हुन्छ नि ! मेरो भूमिका पनि त्यस्तै छ ।

 

फिल्ममा तपाईंले निर्वाह गरेको पात्रको नाम के हो ?

त्यो त फिल्म हेरेपछि नै थाहा पाउनुहुनेछ ।

 

आफ्नो पात्रको नाम मात्र भनिदिँदा पनि त हुन्छ नि ?

हो, नाम छ । तर, हरेक पात्रको नामको आफ्नै महत्व छ । उनीहरूको नामले पनि क्यारेक्टरको स्वभाव र कथामा बोकेको अर्थलाई प्रतिबिम्बित गर्छ । मेरो पात्रको नाम पनि त्यस्तै छ । त्यसैले अहिले नभनौँ । फिल्म हेरेपछि दर्शकले थाहा पाउनुहुनेछ ।

 

‘सारथी’बाट कस्तो अपेक्षा राख्नुभएको छ ?

अपेक्षाभन्दा पनि फिल्मले जति डिजर्भ गर्छ, त्यति पाओस् भन्ने चाहना छ । दर्शकले यो फिल्ममा धेरै नयाँ कुरा देख्न सक्नुहुन्छ ।

एउटा अनुरोध पनि गर्न चाहन्छु । अरूको रिभ्यु हेरेर मात्र फिल्म हेर्ने वा नहेर्ने निर्णय नगरिदिनुहोला । ट्रेलर र गीत हेर्नुहोस् । मन पर्‍यो भने एकपटक हलसम्म पुगेर फिल्म हेरिदिनुहोला । फिल्म हेरिसकेपछि आफ्नो इमानदार प्रतिक्रिया दिनुहोला । तपाईंहरूको प्रतिक्रियाले हामीलाई थप प्रेरणा दिनेछ ।

 

फिल्मका गीत र प्रचार सामग्री सार्वजनिक भएपछि परिवार तथा साथीभाइबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

परिवार र साथीभाइ सबैबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । राम्रो गरेकी छौ, राम्रो देखिएकी छौ भनेर प्रशंसा गर्नुभएको छ । उहाँहरूको साथ र हौसलाले खुसी लागेको छ ।

 

अबको अभिनय यात्रा र भविष्यको योजना के छ ?

मेरो पहिलो प्राथमिकता अभिनय नै हो । म कलाकार नै बन्छु भनेर अगाडि बढिरहेकी छु । अहिले म विद्यार्थी पनि हुँ । बीएससी आईटी अध्ययन गरिरहेकी छु ।

त्यससँगै लेखन र निर्देशनमा पनि मेरो निकै रुचि छ । भविष्यमा यी क्षेत्रमा पनि केही गर्ने इच्छा छ ।

सम्बन्धित समाचार

सबै