नेपमेलो स्टुडियोले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ।
शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ। उनले शोमा तेजप्रसाद पाण्डेको शब्द तथा संगीत रहेको ‘पहिलो माया’ बोलको मर्मस्पर्शी गीत गाएकी छिन्। सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह सिर्जना गरेको छ।
सुजातालाई गितारमा चर्चित गितारिस्ट सन्जिब बराईली र बाँसुरीमा रत्न बिकेले साथ दिएका छन्। प्रकाश मिश्राले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ‘अकाउस्टिक नेपाल’ को स्टुडियोमा खिचिएको हो।
झन्डै ६ महिना लामो अध्ययन र तयारीपछि नेपमेलोले ‘सिंगर्स अन माइक’ दर्शकमाझ ल्याएको हो।
यो कुनै रियालिटी शो हैन। रियालिटी शो जस्तो देखिने यो एक रियल शो हो जहाँ प्रस्तुति दिने गायक-गायिकाले आफ्नै गीत गाउनु पर्नेछ। गीत गाउने गायक नै स्टेजमा हुने कन्सेप्ट र नयाँ अवधारणासहित सुरु गरिएको यो कार्यक्रममा कुनै प्रतिस्पर्धा र पुरस्कारको व्यवस्था छैन।
अहिले कति गायक-गायिकाको गीत सुपरहिट भएपनि सो गीत खासमा कसले गाएको हो भन्ने बारे दर्शक अनविज्ञ रहने भएकाले जसले गाएको हो, उस्तैलाई स्टेजमा उतार्ने नेपमेलोको मुख्य उद्देश्य हो। आफ्नो यो प्रकारको फरक प्रस्तुतिले दर्शकलाई भरपूर रमाइलो, ज्ञान र आनन्द प्राप्त हुनेमा नेपमेलो विश्वस्त छ।
दर्शकले यस कार्यक्रममा नयाँ कलाकारका साथै अग्रज र अहिलेका चल्तीका गायक-गायिकाको प्रस्तुति देख्न सक्नेछन्।
कार्यक्रमबारे जानकारी दिए लगत्तै निर्माण टिमलाई करिब २५० वटा गीतहरू प्राप्त भएका थिए। जसबाट टिमले पहिलो चरणको लागि २४ वटा गीत छनोट गरेको थियो।
त्यसबाट पनि ५ वटा नाम प्रस्तुतिको लागि फाइनल भएको छ। सोहीअनुसार पहिलो प्रस्तुति बुटवलकी सुजाता पाण्डेले दिएकी छन्।