‘दुःखी आत्मा’को ‘जुनी जुनीलाई’ गीतः जुनारमाथि दया र आँचलको रोमान्स

0 Shares

फागुनको २ गते रिलिज हुने फिल्म ‘दुःखी आत्मा’को पहिलो गीत ‘जुनी जुनी भरीलाई’ सार्वजनिक गरिएको छ।

केतन क्षेत्री र मुना ठटालको स्वर, इश्वर कार्कीको शब्द र संगीतमा तयार भएको गीतको भिडियो कर्णप्रिय छ। उदयराज पौडेलले गीतको एरेन्ज गरेका हुन्।

सार्वजनिक गरिएको यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ। फिल्मका मुख्य कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई गीतको भिडियोमा फिचर गरिएको छ। भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोको सम्पादन रामप्रसाद चौधरीले गरेका छन्।

यो फिल्मको टिजर र ब्रेकअप कविता चर्चित भइसकेको छ। सामाजिक संजालमा ब्रेकअप कवितामा टिकटक बनाउनेहरूको संख्या लाखभन्दा माथि पुगिसकेको छ। अब, यो गीतले पनि दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
फिल्मको टिजर सार्वजनिक भएसँगै ‘जुनार’ खुबै हिट भएको छ। यसैले, कोरियोग्राफरले यो गीतमा जुनारको भरपूर प्रयोग गरेका छन्।

दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार भएको फिल्ममा हिमाल कडरियाको लगानी छ। सुदिप ढकाल कार्यकारी निर्माता रहेका यस फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन्।

फिल्ममा दया र आँचलसँगै अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
क्लक वर्क क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा प्रस्तुत गर्छ।

फिल्मले रमाइलो तरिकाले गम्भीर विषयवस्तु उठान गरेको निर्माण पक्षको भनाइ छ।

सम्बन्धित समाचार

सबै