फिल्म ‘मायावी’को ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। तीन दिनअघि सार्वजनिक भएको ट्रेलरले अहिलेसम्म ११ लाख ४३ हजारभन्दा बढी भ्यूज पाइसकेको छ। साथै, यो ट्रेलर युट्युबको सिनेमा सेक्सनअन्तर्गत २ नम्बर ट्रेन्डिङमा छ।
दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै ट्रेलरमा समावेश संवादहरू टिकटकमा समेत चर्चित बनेका छन्। टिकटकमा ‘मायाबी’को विषयवस्तुमा आधारित भिडियोहरू बनाइँदैछन्, जसले दर्शकको उत्साह प्रस्ट देखाउँछ।
दर्शकहरूले फिल्मको संवाद र कथावस्तु लोभलाग्दो रहेको भन्दै यसप्रति उच्च प्रतीक्षा व्यक्त गरेका छन्। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो फिल्म फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्मको ट्रेलरमा २४ हजारभन्दा बढी लाइक र ३ हजार ३ सयभन्दा बढी प्रतिक्रिया आएका छन्। यस फिल्ममा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठसहित नव-नायक समिम खानको मुख्य भूमिका रहेको छ। अधिकांश दर्शकले यसअघि यस्ता लभ स्टोरी फिल्म कमै देखेको बताउँदै फिल्मको प्रतीक्षा गरिरहेका छन्।
निर्देशक दिवाकर भट्टराईले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाप्रति खुशी व्यक्त गरेका छन्। फिल्मलाई राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्तले संयुक्त रूपमा निर्माण गरेका हुन्।