टिजर र गीतको रिलिजसँगै नयाँ वर्ष २०८२ को अवसरमा आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ अहिले चर्चा बढ्न थालेको छ ।
फिल्मकी निर्देशक कृषा चौलागाईंले टिजर र गीतमा प्राप्त दर्शक प्रतिक्रियाका कारण सिनेमाको विदेशमा माग हुन थालेको बताएकी छन्।
उनले भनिन्, “टिजर र गीतलाई प्राप्त प्रतिक्रियाले विदेशमा फिल्मको माग ह्वात्तै बढेको छ। हरेक कथाको आधारमा नयाँ फिल्म बन्ने भएकाले ‘पिताम्बर’ पनि एक नयाँ कथा हो।”
फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण ‘यदा यदा ही धर्मस्य’बाट वाचन गरेपछि सुरु हुने एक्शनपूर्ण टिजरमा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, र रविन्द्र झा देखिएका छन्। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको टिजरलाई १७ लाखभन्दा बढी पटक हेरिएको छ।
त्यस्तै, प्रदीप खड्का र दिव्या रायमाझीको रोमान्समा आधारित गीत ‘म त फ्यान भए यार’लाई १९ लाख पटक हेरिएको छ। तराईको लोकेसनमा भारतीय प्राविधिकहरूले डिजाइन गरेको भव्य सेटमा छायांकन गरिएको यस गीतको दृश्य र प्रस्तुति अत्यन्त आकर्षक बनेको छ।
निर्माता विशाल चौलागाईंले फिल्म प्रति आफ्नो रुचि बढ्दो रहेको भन्दै अझ राम्रो फिल्म बनाउन प्रतिबद्ध रहेको बताएका छन्। पेशाले मेडिकल व्यवसायी रहेका विशालले यसअघि कृषा चौलागाईंको निर्देशनमा ‘एैचोपैचो’ फिल्म निर्माण गरेका थिए।
फिल्म ‘ऐंचो पैचो’ बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ फिल्महरू निर्माण गरिसकेकी छन्।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा प्रमुख कलाकारको रूपमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ।
यस फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) पनि अभिनय गर्दैछन्।
विशाल चौलागाईं निर्माता रहेको यस फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीका पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व रहेको छ। फिल्म आरआर फिल्म्सले वितरण गर्दैछ।
