चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच लागूऔषधविरुद्धको महाअभियानमा द्विपक्षीय सम्झौता

0 Shares

 चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्त कुँवरको उपस्थितिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको आयोजनामा भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा आयोजित कार्यक्रममा यो सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार दुवै निकायले लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जनचेतना फैलाउने र युवा पुस्तालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने लक्ष्य लिएका छन्। विशेष गरी चलचित्रको माध्यमबाट लागूऔषधको दुष्प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने योजना अघि सारिएको छ।

सम्झौताअनुसार लागूऔषधको प्रयोग तथा दुव्र्यसन प्रवर्द्धन गर्ने कुनै पनि चलचित्र, विज्ञापन वा सामाजिक सन्देशलाई निरुत्साहित गरिनेछ। साथै, लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक चलचित्र तथा भिडियो सामग्री निर्माण गर्ने, सिनेमाहलहरूमा प्रसारण गर्ने, विद्यालय तथा विश्वविद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सामुदायिक स्तरमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्ने पहल गरिने उल्लेख छ।

सम्झौताअनुसार दुवै पक्षले एक-एक जना स्रोत व्यक्ति परिचालन गरी चलचित्र विकास बोर्ड र नेपाल प्रहरीको संयुक्त पहलमा लागूऔषध नियन्त्रण तथा दुव्र्यसन न्यूनीकरणका लागि थप रणनीति तय गरिने पनि बताइएको छ।

यस अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.ले लागूऔषधविरुद्धको अभियानसहित समाज परिवर्तनका पहलहरूलाई प्रभावकारी रूपमा अघि बढाउन चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, ने.वि.संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष मोहन ढकाल, पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डित, नागरिक समाजका अगुवाहरू तथा नेपाल प्रहरीका विशिष्ट श्रेणीका व्यक्तित्वहरूको उपस्थिति थियो।

त्यस्तै, कार्यक्रममा कलाकार सरोज खनाल, प्रदीप खड्का, रबिन्द्र खड्का, पुष्कर लामा, गायिका सुनिता दुलाल, इन्दिरा जोशी, कलाकार सृष्टि खड्का लगायत चलचित्रकर्मीहरूको समेत सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

सबै