गायक दुर्गेश थापाले आफ्नो कन्सर्ट हेर्न आउँदा दुर्घटनामा परेका घाइतेलाई मंगलबार अस्पताल पुगेर भेटेका छन्।
बुढानिलकण्ठको चुनिखेलमा भएको कन्सर्टमा उनले प्रस्तुति दिइरहँदा बार भत्किएर च्यापिएपछि चार जना दर्शक घाइते भएका थिए।
चारमध्ये एकजनाको खुट्टा समेत भाँचिएको थियो।
गायक थापाले मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर घाइते भेटेका हुन्। उनले ती घाइतेको उपचारमा पहल गर्ने साथै उनीहरूको तीन महिनाको रासनपानी बेहोर्ने वचनबद्धता व्यक्त गरेका छन्।
बझाङ स्थायी घर भएका ती घाइतेको तीन महिनाको रासनपानी र कोठा भाडा तिर्ने वचन दुर्गेशले दिएका हुन्।
यसैगरी, उनले अस्पतालको खर्च आयोजकले बेहोर्ने पहल गर्ने बताएका छन्। साथै, घाइतेका छोराको तीन महिनाको विद्यालय शुल्क पनि दुर्गेशले तिरिदिने भएका छन्।
दुर्गेशको पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको छ।
