फागु पूर्णिमाको अवसरमा बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
बिहीबार पहिलो शोबाट नै दर्शकहरूको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो चलचित्र हेर्दा दर्शकहरू भावुक बनेका छन्। निर्देशक मिलन चाम्स, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, कलाकार सुमीन गुरुङसहितको चलचित्र टिम दर्शकलाई भेट्न हलमा पुगेका बेला अधिकांश दर्शकहरू रोइरहेका देखिन्थे। त्यसो त, यो चलचित्रको प्रिमियर शोमा पनि दर्शकहरू भाव-विह्वल भएका थिए, जुन क्रम दर्शकसम्म पुगेको छ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैंले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। यसमा उनका बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ। यस चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यस्तै, बिहीबार साँझ राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राईले पनि चलचित्र ‘अञ्जिला’ हेरेकी छन्। चलचित्र हेरेपछि दर्शकसँग साक्षात्कार गर्दै राईले एन्जिलाले चलचित्रमा देखाइएको भन्दा पनि अझै धेरै सङ्घर्ष गरेको बताइन्। “यस चलचित्रमा देखाइएको भन्दा पनि धेरै सङ्घर्ष एन्जिलाले गरेकी छन्, जुन मलाई थाहा छ।
नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीहरूले आ-आफ्नो हिसाबले धेरै सङ्घर्ष गर्नुभएको छ। उहाँहरूले यति धेरै सङ्घर्ष गरेर नै आज हामीले खेलको क्षेत्रमा यो ठाउँसम्म आइपुगेका छौँ,” राईले भनिन्। “एन्जिलालाई यो ठाउँमा देख्दा मलाई एकदमै खुसी महसुस भइरहेको छ। छोरीले फुटबल खेल्नु हुँदैन भन्ने सामाजिक दृष्टिकोण मैले पनि भोगेकी थिएँ, आज यो ठाउँमा उभिँदा मलाई पनि गर्व लागेको छ। सबैले अञ्जिला चलचित्र हेरेर एन्जिलालाई सहयोग गर्नुहोस्,” राई सशस्त्र प्रहरी बलको सुरक्षासहित हलमा आएकी थिइन्।
निर्देशक मिलन चाम्सले आफूले चाहेर पनि एन्जिलाको जीवनमा घटेका थप दर्दनाक घटनाहरू देखाउन नसकेको बताए। “हामीले चाहेर पनि सबै देखाउन सकेनौँ, यो चलचित्रमा आएको कथा त २५ प्रतिशत मात्रै हो। चलचित्र बनाउने क्रममा यत्तिमै म धेरै पटक रोएको छु, सबै कथा त म भन्नै सक्दिन,” चाम्सले दर्शकहरूसँग भने। उनले आफूले दर्शकलाई रुवाउने उद्देश्य नराखेको तर, एन्जिलाको वास्तविक कथा नै दर्दनाक रहेकोले सबै जना भावुक बन्न पुगेको बताए।
चलचित्रले प्रदर्शनको पहिलो दिन देशभरका प्राय: शोहरू हाउसफुल दर्शकका साथ चलेको जुन आफ्नो अपेक्षाभन्दा पनि माथि रहेको निर्देशक चाम्सले बताए। अहिले सोशल मिडियामा अञ्जिलाको प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिपहरू भाइरल छन्।
