गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’ का निर्माताले पहिलो हप्ताको एकमुष्ट व्यापार सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार, यस चलचित्रले बिहीबारसम्ममा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ।
‘होस्टेल ३’ चलचित्र निर्माण कम्पनी सम्मान इन्टरटेन्मेन्टका सञ्चालक र निर्देशक सशान कँडेलले वितरकहरूबाट प्राप्त डिसिआर रिपोर्टको आधारमा व्यापारिक आँकडा निकालेको बताए। “हामीलाई वितरकले दिएको व्यापार रिपोर्ट नै आधिकारिक हुन्छ। वितरकले दिएको बिहीबारसम्मको रिपोर्टमा ४ करोड ३२ लाख ग्रस कलेक्सन देखिएको छ,” कँडेलले भने। उनका अनुसार, यस चलचित्रले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ।
यस चलचित्रलाई काठमाडौंमा गोविन्द शाही नेतृत्वको काफिया फिल्म्स र उपत्यका बाहिर रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले वितरण गरेका छन्। तीन नयाँ नेपाली चलचित्रहरू रिलिजका बाबजुद पनि हलहरूमा *’होस्टेल ३’*को अधिकतम शो कटौती भएका छैनन्। कतिपय हलहरूमा नयाँ चलचित्रहरूको भन्दा *’होस्टेल ३’*को शो बढी रहेका छन्।
यसैबीच, ‘होस्टेल ३’ बिहीबारदेखि मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा पनि प्रदर्शनमा आएको छ, जहाँ दर्शकहरूको उपस्थिति व्यापक देखिएको छ।
‘नन होलिडे’ रिलिजका बाबजुद दर्शकहरू हलमा उर्लिएका छन्। युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गरेको छ। डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्।
यस चलचित्रमा माधव शर्माले पटकथा र संवाद लेखन तथा एसोसियट निर्देशन गरेको छ। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्।