‘कर्मा’को टिजर : एक्सन र स्टन्टको कम्बो

0 Shares

‘कर्मा’ को टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच टिजर सार्वजनिक गरेको हो।

कसैले कान फुट्ने गरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ। त्यसपछि उनी एक्सनमा उत्रिन्छन्। भन्छन्, “जे जान्छ, त्यो घुमेर आउँछ।”

टिजरमा टक्कर लिने विपीन कार्कीको फुल-ऑन एक्सन देखाइएको छ। “कर्माको खेले हो यो सबै,… न कोही जोगियो न कोही जोगिन्छ।”

यो संवादले जति दर्शकको ध्यान खिच्छ, त्यति नै एक्सन दमदार देखिन्छ। टिजरले चलचित्रको कथा लुकाएको छ, तर एक्सन खुलेर देखाएको छ। बाइक स्टन्टले दर्शकको ध्यान खिच्छ।

टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ। उनी परिवारकै लागि एक्सनमा उत्रिएको संकेत टिजरमा झल्किन्छ।

टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत लगायतका कलाकार देख्न सकिन्छ। विपिन र उपासनाको यो पहिलो सहकार्य हो।

यस सिनेमामा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको पनि अभिनय रहेको छ।

‘कर्मा’ लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन्।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ।

ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन्।

‘कर्मा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमा ले लिएको छ।

केही समयअघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज मार्केटमा पनि ‘कर्मा’ प्रति चासो रहेको सेभेन सिज सिनेमा ले बताएको छ।

यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको VFX, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बास्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।

आर्टिस्टिक इन्टरटेनमेन्ट को प्रस्तुति रहेको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ।

 

सम्बन्धित समाचार

सबै