नेविसंघको जिल्ला सचिव भएपछि सक्रिय राजनीति छाडें, भने- म राजावादी होइन

0 Shares

राजावादीको आरोप खेपेपछि अभिनेता दीपकराज गिरीले फेसबुकमा लामो स्टाटास लेख्दै आफू राजावादी नभएको स्पष्टिकरण दिएका छन् ।

शुक्रबार राजावादीले तिनकुने-कोटेश्वर क्षेत्रमा मच्चाएको आतंकपछि अघिल्लो दिन नागरिक अगुवाको नाममा राजावादी आन्दोलनमा बल पुर्‍याउने किसिमले जारी एक सामुहिक अपिलमा गिरीको समेत नाम सामेल भएको थियो ।  गिरीले सोही अपिलका एक अपिलकर्तामा आफूलाई चित्रित गर्दै शुक्रबारको होंसाका पक्षपोषकका रुपमा चित्रित भएपछि यस्तो स्पष्टिकरण दिएका हुन् ।

उनले लेखेको फेसबुक पोस्टमा उनले ४६ सालपछि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठनमा गाँउ सचिव हुँदै जिल्ला सदस्य भएको उल्लेख गर्दै कलाकारितामा लागेपछि सक्रियरुपमा राजनीति पूर्णरुपमा छोडेको उल्लेख गरेका छन् ।

त्यसपछि उनले कहिले प्रचण्ड त कहिले केपी ओली, कहिले रवि लामिछाने त कहिले बालेनलाई एजेण्डाहेरि समर्थन गरेको समेत लेखेका छन् । उनले यसक्रममा हाल आफू कुन दलविशेषसँग निकट र सम्बद्ध नरहेकोसमेत स्पष्टिकरण स्टाटसमा पेस गरेका छन् ।

त्यसैगरी गिरीले स्टाटसमा आन्दोलनको ठीक एकदिन अघि आफूलाई बौद्धिक भेला हुँदैछ जसले हाल देखिएको राजनीति ध्रुवीकरणको बारेमा छलफल गर्नेछ, तपाईको विचार के छ राख्नु होला भनियो त्यहाँ गएपछि आफ्नो स्वभाव अनुसार सधैं जस्तै स्पष्ट रूपमा सकारात्मक विचार राखियो! हाल समस्या त रहेको, तर देश प्रचार गरे जस्तो पनि नबिग्रिएको, विचार पोखियो, चिया खाइयो अनि आइयो! भोली पल्ट बिहानै आफू फेरि एकपल्ट राजाबादी भइसकिएको आफूलाइ पत्तै भएन लेखेका छन् ।

स्टाटसको अन्तमा उनले हालको अवस्थाका लागि गणतन्त्रवादी नेताहरु नै जिम्मेवार रहेको बताउँदै राम्रोसँग राज्य चलाउनसमेत आग्रह गरेका छन्।

पोस्टमा उनले तमाम नेतालाई आफूले राजा मानेको भन्दै व्यंग्य कसेका छन् ।

दिपकराज गिरीले लेखेको फेसबुक पोस्ट(व्याकरणिक संपादन मात्र गरिएको)

आज म लेख्दैछु… सर्वप्रथम म राजाबादीको तर्फबाट याहाँहरूलाई नमस्कार !!! २०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रव गरियो यहाँ उल्लेख नगरौं! मेरो राजाबादी यात्रा ठोस रूपमा २०४६ पछि सुरू भएको हो! मूलुकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो, कुन विचार र दललाई अंगालौं भनेर अध्ययन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर ‘राजा’को पार्टी रोजियो। यस क्रममा गाउं सचिब हुँदै, नेबिसंघ काठमाडौँ जिल्ला सदस्य समेत भइयो, करिब एक दशक शेर बहादुर राजाकै पछि लागेपछि मेरो यात्रा राजनीति बाट कलाकारीतामा मोडियो र सम्पूर्ण राजनीतिक क्रियाकलापलाई पूर्ण विराम दिइयो! कुनै पनि राजनीतिक गतिविधिमा लागिएन! त्यसपछि २०६२/६३ आयो, त्यतिबेला मुलुक नै संकटमा परेको आभास भयो र प्रचण्ड राजाको क्रान्तिकारी तेजबाट प्रभावित पनि भएँ र उनी लगायतका नेताहरूको आव्हानलाई साथ दिइयो र तत्कालीन राजसत्ता बिरुद्ध लेखियो, बोलियो, हिँडियो पनि!! त्यति बेला फेरि एकपल्ट राजाबादी भएँ! त्यसपछि पालो आयो केपी राजाको, उहाँको तार्किक शक्ति र शैलीको फ्यान परिएँ! धेरै ठाउंमा उहाँको तारिफ गरियो, चुच्चे नक्सामा को सवालमा त उहाँको समर्थन गरेर पटक पटक राजाबादी भएँ! हाल कुनै पनि दलसँगको सामिप्यता नरहे पनि आफ्नो democratic thought लाई कहिल्यै मर्न दिनु भएन! अब अस्तिको कुरा गरौं… आन्दोलनको ठीक एक दिन एउटा कल आयो, एउटा बौद्धिक भेला हुँदैछ जसले हाल देखिएको राजनीति ध्रुवीकरणको बारेमा छलफल गर्नेछ, तपाईको विचार के छ राख्नु होला भनियो! त्यहाँ गएपछि आफ्नो स्वभाव अनुसार सधैं जस्तै स्पष्ट रूपमा सकारात्मक विचार राखियो! हाल समस्या त रहेको, तर देश प्रचार गरे जस्तो पनि नबिग्रिएको, विचार पोखियो, चिया खाइयो अनि आइयो! भोली पल्ट बिहानै आफू फेरि एकपल्ट राजाबादी भइसकिएको आफूलाइ पत्तै भएन! पछिल्लो समय बालेन आए, निर्वाचनमा उनलाई पनि समर्थन गरियो! पछि रवि आए! उनलाई पनि समर्थन गरियो नै! तर नयाँ विचार, नयाँ मानिस आउने बित्तिकै यहाँ गणतन्त्रलाई पखाला चल्न थाल्छ, प्रजातन्त्र नै खतरामा पर्छ! यहाँ शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो भएन भने त्यो मानिस गणतन्त्र विरोधी हुन्छ कि राजाबादी हुन्छ! तपाईंहरूको अस्वस्थ प्रतिस्पर्धाले नै हो जनतामा निराशा आएको! यहाँ पुराना राजाको डिमाण्ड बढेको तपाईंहरूकै शैलीले गर्दा हो! अन्त्यमा तपाईंहरूले नै राम्रोसँग राजकाज चलाउनुहोस्! तपाईंहरूलाई नै राजा मानिरहेकै छु र मानिरहन पाउँ र सधैं राजाबादी भएर बस्न पाउँ!”

शुभदिन!!

सम्बन्धित समाचार

सबै