सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका अभिनेता आशिष पिया पुनः ठूला पर्दाको फिल्ममा कमब्याक गर्न लागेका छन्। ‘समर लभ’ रिलिज भएको पाँच वर्षपछि उनी ‘अमिगोस’ फिल्ममार्फत नेपाली रजतपटमा फर्किन लागेका हुन्।
उनले अभिनय गर्ने लभस्टोरी फिल्म ‘अमिगोस’को छायांकन आगामी भदौदेखि नेपाल र अष्ट्रेलियामा गरिनेछ। यस फिल्मको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) ले गर्नेछन्। उनी पनि करिब एक दशकपछि नेपाली फिल्म लेखन तथा निर्देशनमा कमब्याक गर्दैछन्। उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’ फिल्मको लेखन तथा निर्देशन गरेका थिए।
बीएस इन्टरनेसनल स्टुडियोको ब्यानरमा निर्माण हुने यस लभस्टोरी फिल्म ‘अमिगोस’का निर्माता विकास आचार्य हुन्। उनले पहिलो पटक फिल्म निर्माणमा हात हालेका हुन्। सुरेन्द्र रावल सह-निर्माता रहेको यस फिल्मको ७० प्रतिशत छायांकन अष्ट्रेलियामा र ३० प्रतिशत नेपालमा गरिनेछ।
हाल फिल्मका लागि दुई मुख्य कलाकारको खोजी भइरहेको निर्माण टिमले जनाएको छ। केही दिनमै आशिष बाहेकका एक अभिनेता र एक अभिनेत्रीको टुंगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ।