नेपाली चलचित्र उद्योगमा ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता सोसल ड्रामामा सफल चलचित्र दिएका निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ।
जेठ २ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले घर र डेराको कथा भन्नेछ। घर र डेरोबीचको फरक बसाइले पारेको प्रभावको कथा भन्नेछ। घर र डेराका कारण समाजले जबरजस्ती निर्धारण गर्ने सोसल स्टाटसको कथाव्यथाबारे बोल्नेछ।
घर र डेराको कारण जतिसुकै उचनीच व्यवहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ भन्नेबारे ‘के घर के डेरा : घर नं २’ले बताउने निर्देशक खनालले बताए।
घर र डेराको कथा भन्ने सिनेमामा को हुन् डेरावाल र को हुन् घरभेटी? चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्। यीमध्ये चलचित्रमा को घरभेटी र को डेरावाल हुन्?
पोस्टरमा सबैको उस्तैउस्तै लुक्स देखिन्छ। तर, एउटा पोस्टरमा खगेन्द्र साइकल डोर्याइरहेका छन्। टिजरले पनि खगेन्द्रलाई दुःखी पात्रका रूपमा देखाएको छ।
त्यसैले खगेन्द्र डेरावाल हुन् कि भन्ने सामान्य अनुमान गर्न सकिन्छ। यदि उनी डेरावाल हुन् भने, घरभेटी आर्यन हुन् कि निश्चल भन्नेबारे निर्देशकले केही जानकारी दिएका छैनन्।
निर्देशक दीपेन्द्र के. खनालले ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताए पनि कथा घर र डेराको रहेको बताउँछन्। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। उनको यो पहिलो सिनेमा हो।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाले सिनेमाको छायांकन गरेका छन्। ‘के घर के डेरा : घर नं २’ का निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन्। कार्यकारी निर्माताका रूपमा युवराज कार्की छन्।