नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले शनिबार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ। देशभरका करिब ४० वटा सिनेमा हलहरूमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यस फिल्मको सफलता साट्न आयोजित कार्यक्रममा फिल्म युनिट, शुभचिन्तकहरू, लगातार ५१ दिनसम्म प्रदर्शन गरिरहेका सिनेमा हलका प्रतिनिधि, वितरकहरू तथा पत्रकारहरूको उपस्थिति थियो।
कार्यक्रममा फिल्म युनिट, सिनेमा हलहरू र स्वदेशी तथा ओभरसिज वितरकहरूलाई निर्माता संस्था आर्टमाण्डुका निर्देशक एवं ‘ऊनको स्वीटर’ का निर्देशक नवीन चौहान, निर्माणमा सहकार्य गरेको केन्द्र मोशन पिक्चर्सका सञ्चालक केन्द्र लिम्बु, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकीले प्रशंसा पत्र प्रदान गरे। यस अवसरमा विभिन्न पोस्टरहरूले सजाइएको तीन तले केक काटेर उत्सव मनाइएको थियो।
निर्देशक नवीन चौहान तथा कलाकारहरू विपिन कार्की र मिरुना मगरले सबै दर्शक, शुभचिन्तक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरे। निर्देशक चौहानले चलचित्रले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको भन्दै खुशी व्यक्त गरे।
कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, माओत्से गुरुङ, भावना खपांगी मगर, गायक सुजन चापागाईँ, संगीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, डीओपी चिन्तन राजभण्डारी लगायत क्रिएटिभ तथा टेक्निकल टिमको उपस्थिति थियो।
नेपाली फिल्म क्षेत्रमा ५१ दिन प्रदर्शन हुनु ठूलो सफलता मानिन्छ। वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले दर्शकहरूको मन जित्दै बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। हालसम्म यस फिल्मले ११ करोडभन्दा बढी व्यापार गरिसकेको छ।
विशेष गरी, नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर संगीतका कारण ‘ऊनको स्वीटर’ दर्शकहरू माझ लोकप्रिय बनेको छ। निर्देशक चौहानले नै यस फिल्मको स्क्रिप्ट लेखेका हुन् भने विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायत कलाकारहरूको अभिनय रहेको छ। यसका गीत निर्देशक सुजन चापागाईँ हुन् भने संगीत निर्देशक कोविद बज्र हुन्।
