विवाहित महिलाहरूका लागि आयोजित प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिले ललितपुरको पुलचोकस्थित द प्लाजा होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत मिसेस नेपाल वर्ल्ड २०२५ को आवेदन खुला गरिएको जानकारी दिएको हो।
प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुनेछ भने ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिनेछ।
यस वर्षको प्रतियोगितामा लोकप्रिय हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) प्रमुख अतिथिका रूपमा सहभागी भए भने अभिनेत्री दीपिका प्रसाईं प्रतियोगिताको गुडविल एम्बेस्डरका रूपमा जोडिएकी छन्।
केदारले मिसेस नेपाल २०२३ की प्रतियोगी सिता सुवेदी, जो चौथो चरणको क्यान्सरसँग संघर्षरत छिन्, उनको उपचारका लागि रु. ५१ हजार सहयोग गर्ने घोषणा गर्दै अन्यलाई पनि सहयोगका लागि आह्वान गरे। उनले मिसेस नेपाल प्रतियोगिता विवाहित महिलाका लागि उत्कृष्ट अवसर भएको बताउँदै घर–परिवारको सहयोग र व्यक्तिगत आत्मबल आवश्यक हुने बताए।
दीपिका प्रसाईंले मिसेस नेपाल वर्ल्डलाई केवल सौन्दर्य प्रतियोगिता नभई आत्मविश्वास अभिवृद्धि गर्ने साझा मञ्च भएको बताइन्। महिलाहरूले आफैँप्रति विश्वास राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता डेनिला कार्कीले विवाहपछि पनि आत्मविकासको चाहना राख्ने महिलाहरूका लागि यो प्रतियोगिता राम्रो अवसर भएको बताइन्।
एमएस नेपाल इन्टरनेसनल २०२४ की रेश्मा घिमिरेले आफू एकल आमा भए पनि यो प्रतियोगिताले आफूलाई आफ्नो क्षमता उजागर गर्ने अवसर दिएको बताइन्।
मिसेस नेपाल इन्टरनेसनल २०२४ की सुयशा राउतले व्यक्तित्व विकास र सामाजिक रूपले अघि बढ्न चाहने विवाहित महिलाका लागि यो प्लेटफर्म उपयोगी रहेको बताइन्।

रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस वर्षको संस्करण अझ बृहत् र व्यवस्थित ढंगले आयोजना हुनेछ। प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनमा सीमित नरही नेतृत्व, आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने अभियानका रूपमा अघि सारिनेछ।
बोर्ड डाइरेक्टर आरुषी अग्रवालले प्रतियोगिता महिलाको सपनालाई साकार पार्ने माध्यम भएको बताइन्। कोरियोग्राफर आश्विनीकान्त झाका अनुसार प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान अमेरिकालगायतका देशमा रहेका नेपाली समुदाय र साझेदार संस्थासँगको समन्वयमा काम भइरहेको छ।
प्रतियोगितामा सहभागी हुनका लागि उचाइ वा तौलको कुनै मापदण्ड छैन, तर प्रतियोगी न्यूनतम एसएलसी उत्तीर्ण हुनुपर्छ। विवाहित र एकल महिलाहरूले पनि सहभागिता जनाउन सक्नेछन्।
आवेदन ‘खल्ती’ एप वा रिबन इन्टरटेन्मेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ।
प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप आदिमा विशेष प्रशिक्षण प्रदान गरिनेछ।
प्रतियोगिताको कोरियोग्राफर आश्विनीकान्त झा, नृत्य कोरियोग्राफर सन्दीप भुजेल, सहायक कोरियोग्राफर आईना गजुरेल रहने छन्। समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन्।
मिसेस नेपाल वर्ल्ड २०२५ की विजेताले आगामी वर्ष अमेरिका हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
अघिल्ला विजेताहरूमा:
२०२१ – दिक्षा केसी
२०२३ – पृथ्वीया थापा (मिसेस वर्ल्ड २०२३ मा ह्युम्यानिटेरियन अवार्ड विजेता)
२०२४ – डेनिला कार्की
यसै मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल को उपाधि विजेता पनि घोषणा गरिनेछ।