चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म **‘माग्ने राजा’**को पहिलो गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक गरिएको डान्सिङ नम्बर **‘त्यो मिठो जोवन’**मा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीको स्वर रहेको छ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा केदार र वर्षाको जोडी फिचर्ड गरिएको छ। यमप्रसाद वली प्रोडक्सन म्यानेजर रहेका छन् भने मित्र डी. गुरुङले भिडियो सम्पादन गरेका हुन्। नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई मधुसुदन शर्माले निर्माण गरेका हुन्। अडियो र भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको गीत दर्शकमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।
८ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक ऋषि लामिछानेले **‘माग्ने राजा’**ले अहिलेको युवापुस्ताले आफैलाई ‘राजा’झैं ठान्ने प्रवृत्तिको कथा प्रस्तुत गर्ने बताएका छन्। लामो समयपछि निर्माता मुनाल घिमिरे पनि यसै फिल्ममार्फत निर्माणमा फर्किएका हुन्। उनी हाल दाङको घोराही उपमहानगरपालिका–४ का वडा अध्यक्ष समेत हुन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा केदार र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय रहेको छ। साथै, अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहनेछ।
फिल्ममा सामीप्य राज तिमल्सिनाको कथा, पटकथा तथा संवाद रहेको छ भने दीपक शर्मा र बाबुल गिरीको संगीत सुन्न सकिन्छ। आरआर फिल्म्सले फिल्मको वितरण गर्नेछ।