शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकले निकै मन पराएका छन्। फिल्म हेरेर निस्किएका दर्शकले खुलेर प्रशंसा गर्दै यसले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनमा गरेको प्रयास अत्यन्त सराहनीय रहेको प्रतिक्रिया दिएका छन्। युवा पुस्ताले समेत यो फिल्म अनिवार्य हेर्नुपर्ने बताउँदै सामाजिक सन्देश बोकेको गहिरो फिल्मको रूपमा व्याख्या गरेका छन्।
दर्शकको प्रतिक्रिया प्रत्यक्ष रूपमा बुझ्नका लागि कलाकार रोशन श्रेष्ठ, बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पूर्वका विभिन्न हलमा पुगेका थिए। विशेष गरी दमकमा फिल्मप्रति दर्शकको चासो बढेसँगै फिल्म युनिट त्यहाँ पुगेको हो। आइतवार साँझ दमकको डी–म्याक्स हलमा कलाकार पुगेका बेला हल हाउसफुल थियो।
फिल्म हेरेर निस्किएका दर्शकहरूले ‘यो मन त मेरो नेपाली हो’ साँच्चिकै मन छुने फिल्म बनेको भन्दै धेरै ठाउँमा आँसु रोक्न नसकेको बताएका थिए।
फिल्म हेर्न पुगेका चर्चित युट्युबर भाग्य न्यौपानेले फिल्मले आफ्नो मन छोएको र अत्यन्तै सुन्दर बनेको प्रतिक्रिया दिए। विशेषगरी भुटानी नेपाली शरणार्थीहरूले फिल्म हेरेपछि पुराना दिनहरूको सम्झनामा भक्कानिँदै रोएको दृश्यले हल भावुक बनाएको थियो।
फिल्म हेरेपछि धेरै दर्शक हलमै रोएका थिए। निर्देशक मित्र प्रधानले दर्शकबाट यस्तो उत्साहजनक प्रतिक्रिया पाउँदा आफू थप हौसिएको बताए।
फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ। पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन्। मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।