फरक–फरक शैलीका फिल्महरू — ‘बिर बिक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ र ‘अञ्जिला’ — निर्देशन गरेर आफूलाई सक्षम निर्देशकका रूपमा स्थापित गरिसकेका मिलन चाम्सले नयाँ प्रेमकथामूलक फिल्म ‘सुम्निमा’ निर्देशन गर्ने भएका छन्।
यस फिल्ममा अभिनेता कुन्साङ बमजन मुख्य भूमिकामा अनुबन्धित भएका छन्। उनले ‘सुम्निमा’ लाई आफ्नो डेब्यु फिल्मका रूपमा लिइरहेका छन्। निर्देशक चाम्सको फिल्ममा अभिनय गर्न पाउनु गर्वको विषय भएको बताउँदै बमजनले यो फिल्ममार्फत आफूलाई मेहनती र क्षमतावान कलाकारका रूपमा प्रमाणित गर्ने बताए। ‘सुम्निमा’ ले बमजनको करियरमा नयाँ उचाइ थप्ने अपेक्षा गर्न सकिन्छ।
गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्ट को संयुक्त लगानीमा निर्माण हुने यो फिल्मको नाम नारी पात्र जस्तो लागे पनि फिल्म विशुद्ध प्रेमकथामा आधारित हुने निर्देशक चाम्सले जानकारी दिए। फिल्मको मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी अनुबन्ध भइसकेकी छन्।
फिल्मका अन्य कलाकार तथा प्राविधिक टोली चयनको प्रक्रिया चलिरहेको जानकारी दिँदै चाम्सले, ‘सुम्निमा’ लाई यूनिभर्सल कथा बनाएर अन्तर्राष्ट्रिय बजार लक्षित गर्दै तयार पारिने बताए।
राजीव थापाको लेखनमा बन्ने फिल्मको छायांकन आगामी अगस्टमा लण्डन र नेपालमा गरिनेछ।
उल्लेखनीय छ, चाम्स निर्देशित बायोपिक फिल्म ‘अञ्जिला’ ले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको थियो र बायोपिक श्रेणीमा सबैभन्दा धेरै व्यापार गर्ने रेकर्ड समेत बनाएको छ।