‘गुन्यो चोलो’ भदौ १३ गते आउने, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक

0 Shares

चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माण पक्षले आज एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो।

लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा मनिषा पोखरेलको स्वर रहेको छ। संगीत पनि लेखु सहयात्रीकै रहेको छ।

गीतले आफूभित्र प्रेमिल मन रहेको र माया गर्ने चाहना रहेको कुरा व्यक्त गर्छ। कसैले माया गर्छ भने भोगेर जान, तर माया गरेको प्रमाण दिनुपर्ने सन्देश गीतमा दिइएको छ।

देख्दा मन परेपछि मनबाट चोखो माया गर्न आग्रह गर्दै, जोवन सुम्पिन तयार रहेको र आफूलाई मुटुमा सजाउन आग्रह गरिएको गीतमा भनिएको छ। गीतको भिडियोमा नाजिर हुसेनको नृत्य प्रस्तुत गरिएको छ।

महिलाको भेषमा रहेका नाजिरले उत्कृष्ट अदायगी देखाएका छन्। गेस्चर र पोस्चरमा पनि उनले राम्रो मेहनत गरेका छन्। भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ।

निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। ‘गुन्यु चालो : द ड्रेस’ भदौ १३ गते रिलिज हुने छ।

समुन्द्र भट्टको निर्देशनमा बनेको यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा आधारित छ।

चलचित्रमा नाजिर हुसेनले ट्रान्सवुमन (पारालैंगिक महिला)को मुख्य भूमिका निर्वाह गरेका छन्।

नाजिरका साथै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा आधारित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकास्थित बफेलो एट्लेले खरिद गरेको छ।

चलचित्रको सम्पूर्ण पोस्ट-प्रोडक्सनको काम विदेशमै गरिएको छ—जसअन्तर्गत एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिक सबै हलिउड शैलीमा सम्पन्न गरिएको हो।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार पारेका हुन्। लिजाले हलिउड फिल्म ‘ग्ल्याडिएटर २’ मा समेत स्वर दिएकी थिइन्।

यो चलचित्र नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त सहकार्य (कोल्याबोरेसन) मा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भी–भन्से जानुबोनको लगानी रहेको छ। कार्यकारी निर्माताहरू जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह-निर्माता हुन्।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत समावेश गरिएको छ। यो चलचित्र अमेरिकाको प्रतिष्ठित ‘तस्वीर फिल्म मार्केट’मा छनोट पनि भएको थियो।

सम्बन्धित समाचार

सबै