‘जदौ’ फिल्मको निर्माण घोषणा, जातीय भेदभावविरुद्ध आवाज बुलन्द

0 Shares

 जातीय विभेद तथा अन्तरजातीय प्रेम सम्बन्धमा आधारित कथावस्तु लिएर निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘जदौ’ को औपचारिक निर्माण घोषणा गरिएको छ।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा ‘नखाको बिषले सतायो, नचल्ने खोटी बनायो…’ भन्ने गीतका मार्मिक पंक्तिहरू वाचन गरिँदा उपस्थित माहोल स्तब्ध बन्यो। गीतकी रचयिता प्रीति कौरको रचना कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले भावुक वाचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ कविता वाचन गर्दै फिल्मको टाइटल ‘जदौ’ सार्वजनिक गरे।

काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने यो फिल्म भदौको पहिलो साताबाट छायांकनमा जाने तयारीमा छ। निर्माणमा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट संलग्न छन्।

कार्यक्रममा प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ जातीय भेदभावविरुद्ध आवाज उठाउने फिल्म भएको बताइन्। निर्देशक अञ्जन शर्माले समाजका यथार्थ घटनालाई मनोरञ्जनात्मक शैलीमा पर्दामा उतार्ने बताए। अर्का निर्देशक काजी लिम्बू, जसले फिल्म लेखन समेत गरेका छन्, उनले दशकौँदेखि भोगेका जातीय भेदभावजन्य घटनाहरू फिल्ममा समेटिएको बताए।

मुकुन भुसाल, विनोद न्यौपाने, नीति शाह, प्रभातपाल ठकुरी र सन्ध्या श्रेष्ठ मुख्य भूमिकामा छन्। कलाकारहरूले यसपटक फरक चुनौतीपूर्ण भूमिका निर्वाह गर्दै गरेको जानकारी दिए। ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायत अन्य कलाकार पनि फिल्ममा छन्।

श्याम तामाङ छायांकन, चिरञ्जीवि भण्डारी कला निर्देशन, मिलन श्रेष्ठ द्वन्द्व निर्देशन, बिनयराज पौडेल सहायक निर्देशनमा छन्। बाबुल गिरी र सरोज पोखरेल संगीत संयोजक छन्। फिल्मको छायांकन दाङ र प्युठानका विभिन्न स्थानमा हुनेछ।

कार्यक्रममा गोलाप्रथामार्फत ७ जना सञ्चारकर्मीलाई पुरस्कार वितरण गरिएको थियो। निर्देशक लिम्बूले ‘लक्की सेभेन गिफ्ट’ को अवधारणासहित कार्यक्रम memorable बनाउन खोजिएको बताए। कार्यक्रम वरिष्ठ पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीले संचालन गरेका थिए।

सम्बन्धित समाचार

सबै