‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को भव्य शुभारम्भ

0 Shares

 गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को औपचारिक शुभारम्भ तथा ओरिएन्टेशन कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार सामाखुसीस्थित विशाल फुटसलमा एक भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको हो।

कार्यक्रममा कृषि मन्त्री माननीय रामनाथ अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
त्यस्तै, कार्यक्रममा

  • इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य,

  • वरिष्ठ अभिनेता सरोज खनाल,

  • पूर्व सांसद मानकुमारी गुरुङ,

  • पूर्व डीआईजी डा. देउती गुरुङ,

  • जिनोपेका सीईओ प्रिजम प्रधान,

  • आयोजक टोलीका शानु खान, रबीलामा तामाङ, केशव थापा,

  • नेपाल आइडल २०१७ का विजेता बुद्ध लामा विशेष अतिथिका रूपमा सहभागी थिए।

एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न यस प्रतियोगिताको नेतृत्व प्रबन्ध निर्देशक शान्ता लामा तामाङले गर्नुभएको हो।
उनका अनुसार, “यो संस्करण अघिल्ला भन्दा अझ बढी व्यवस्थित, भव्य र प्रभावकारी रहेको छ।”
यो नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क रूपमा आयोजित सौन्दर्य प्रतियोगिता हो, जहाँ सहभागी महिलाहरूलाई फारम, प्रशिक्षण तथा आवश्यक सबै सहयोग निःशुल्क प्रदान गरिन्छ।

प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमताको उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

उद्घाटन समारोह आकर्षक सांस्कृतिक प्रस्तुतिहरू, प्रेरणादायी मन्तव्य र उत्साही सहभागिताले भरिपूर्ण रह्यो।
यस कार्यक्रमलाई सफल बनाउन समाजसेवी, व्यवसायी, राजनीतिज्ञ तथा चलचित्र ‘हिमालकी रानी’की अभिनेत्री शान्ता कुमारी तामाङको प्रेरणादायी भूमिका रहँदै आएको छ।
जुम्बा क्विन २०१५ र मिसेस नेपाल आइकन २०१५ की उपविजेता समेत रहेकी शान्ता जय नेपाल इन्टरनेशनलकी संस्थापक हुन्।
उहाँ आदिवासी जनजाति र महिलाको सशक्तिकरणमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ।

सम्बन्धित समाचार

सबै