‘कोशेढुंगा’ फिल्मले तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको छ। सेभेन सिज इन्टरनेसनलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको हुकलाइन र संगीत रहेको छ।
गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर रहेको छ।
तीजको मौलिक सेटअपमा आधारित गीतले विवाहित र अविवाहित महिलाको सोच र अनुभवलाई उजागर गरेको छ। विवाहित महिलाले वैवाहिक जीवनको रमाइलो पक्ष प्रस्तुत गर्दा, अविवाहित पात्रहरूले जीवनसाथीप्रतिको कल्पना र चाहनालाई व्यक्त गरेका छन्।
भिडियोमा चलचित्रका मुख्य कलाकार सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट अभिनय गरेका छन् भने विवाहित महिलाको प्रतिनिधित्व ऋचा शर्माले गरेकी छन्। मन्जिल कुमारले पनि विवाहप्रति उत्सुकता देखाउँदै सुरक्षासँग प्रेमसम्बन्धको सुरुआत गर्ने भाव प्रस्तुत गरेका छन्।
सरोज पौडेल निर्देशित चलचित्र ‘कोशेढुंगा’को यो गीत केवल तीज गीत मात्र नभई नृत्य र मनोरञ्जनको समिश्रण भएको पारिवारिक प्रस्तुतिका रूपमा आएको छ। गीतमा आकर्षक नृत्य बिट र स्टेपहरू समावेश भएकाले यो तीजमा मात्र होइन, आगामी वर्षहरूमा पनि लोकप्रिय हुने निर्माणपक्षको विश्वास छ।
यस गीतसँगै टिकटक प्रतियोगिता समेत खुला गरिएको छ। आज (साउन ६ गते) देखि सुरु भएको प्रतियोगिता अगस्ट २० (भदौ ४ गते) सम्म खुला रहनेछ। सहभागीहरूले #NatraBhaneJindagiByarthaCha ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।
प्रतियोगिताअन्तर्गत:
उत्कृष्ट प्रदर्शनलाई रु. ३०,०००
सबैभन्दा सिर्जनात्मक भिडियोलाई रु. २०,०००
सबैभन्दा धेरै लाइक पाउने भिडियोलाई रु. १०,००० पुरस्कार प्रदान गरिनेछ।
चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ निर्देशन गरिसकेका सरोज पौडेलको निर्देशनमा तयार भएको ‘कोशेढुंगा’ भदौ १२ गते (August 28) देश–विदेशमा एकसाथ प्रदर्शन हुँदैछ।
नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा बनेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने निर्माता प्रेविल कँडेल र किशोर अनुराग रहेका छन्। बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा नहकुल खड्काको सम्पादन र आशिष अविरल तथा रिदम कँडेलको संगीत रहेको छ। कास्टिङ निर्देशक सुवलमणि सापकोटा हुन्।
चलचित्र ४० भन्दा बढी देशमा एकैपटक प्रदर्शन हुने तयारीमा छ। सेभेन सिज इन्टरनेसनलका प्याट्रिक सुवेदी र रमेश ढकालले चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै छन्। यसरी पहिलो पटक यति धेरै देशमा एकसाथ प्रदर्शन हुन लागेको नेपाली चलचित्रले अन्तर्राष्ट्रिय क्षेत्रमै नयाँ उचाइ प्राप्त गर्ने अपेक्षा गरिएको छ।