सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल २०२५ का विजेता छनोट भएका छन्। आयोजक एमएस प्रोडक्सन नेपालले आइतबार साँझ हायात रिजेन्सीमा सम्पन्न फिनालेमार्फत चार विजेतालाई सार्वजनिक गरेको हो।
पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा, र महिलातर्फबाट सदिक्षा श्रेष्ठ तथा दिव्यस्वरी आचार्य विजेता बनेका हुन्।
चारैजना विजेताहरूले कोरियामा आयोजना हुने ‘फेस अफ एसिया’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। प्रतियोगिता आगामी अक्टोबरमा कोरियामा हुने कार्यक्रम तय भएको फेस अफ नेपालकी राष्ट्रिय निर्देशक मेनुका माझीले जानकारी दिइन्।
माझीका अनुसार, गत वर्ष झैँ यस वर्ष पनि विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने अपेक्षा गरिएको छ। फेस अफ नेपाल प्रतियोगिता गत वर्षदेखि एमएस प्रोडक्सन नेपालले आयोजना गर्दै आएको हो। विजेताहरूले १५ लाख रुपैयाँ बराबरका विभिन्न अवसर र उपहारहरू प्राप्त गरेका छन्।
फिनाले कार्यक्रममा फेस अफ एसियाकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनली विशेष अतिथिका रूपमा उपस्थित थिइन्। त्यसैगरी निर्णायकको रूपमा कलाकार तथा उद्घोषिका रिमा विश्वकर्मा, मिस नेपाल २००२ माल्भिका सुब्बा, राष्ट्रिय निर्देशक मेनुका माझी, चलचित्र निर्देशक सरोज पौडेल, र व्यवसायी मनिष कुमार खेम्का रहेका थिए।
फेस अफ नेपालको कोरियोग्राफर दिक्पाल कार्की थिए भने सहायक कोरियोग्राफरका रूपमा स्मिता भुसाल र विशाल श्रेष्ठ थिए। कार्यक्रमको होस्ट सेसेमी लिम्बु थिइन्। इभेन्ट म्यानेजर प्रज्वल ताम्राकार र बजार व्यवस्थापन नितु अग्रवाल खेम्काले सम्हालेका थिए। अफिसियल फोटोग्राफरका रूपमा निशान्त सरकार र अनवेस देवकोटा रहेका थिए।