खिल बहादुर गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म ‘रिमै’ को टिजर मंगलबार सार्वजनिक गरिएको छ। करिब दुई मिनेटको टिजरमार्फत निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि एक हप्ता अघि सारेको जानकारी दिएको छ। यसअघि भदौ २७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म अब भदौ २० गतेबाट देशव्यापी रूपमा रिलिज हुने भएको छ।
टिजरले रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत दिएको छ। ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदलाको मिश्रणमा आधारित कथावस्तु दर्शाइएको छ। दयाहाङ राईको गम्भीर अभिनय, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय भूमिका र बुद्धि तामाङको प्रभावशाली अभिनयले टिजरलाई थप आकर्षक बनाएको छ।
फिल्मले गुरुङ समुदायको संस्कृति र सामाजिक यथार्थ उजागर गर्ने संकेत टिजरले दिएको छ। टिजरको अन्तिम भागमा देखिएको तनावपूर्ण दृश्यले फिल्ममा द्वन्द्वको पाटो पनि प्रमुख हुने सम्भावना देखाउँछ। निर्माण टिमले यो टिजरले दर्शकमाझ उत्साह थप्ने विश्वास व्यक्त गरेको छ।
‘गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्राली’ को प्रस्तुति र ‘रोटेपिङ इन्टरटेनमेन्ट’ को सहकार्यमा बनेको फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ तथा बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ।
फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन्। कार्यकारी निर्माता वीरबल घले रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माताका रूपमा छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रूपमा रहेका छन्।
फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डि गुरुङको सम्पादन, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर रहेका छन्।