निर्देशक मिलन चाम्स निर्देशित नयाँ प्रेमकथात्मक चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्।
यस चलचित्रमार्फत चाम्स र शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि उनीहरूले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा सँगै काम गरिसकेका छन्। विशेषगरी ‘लिली बिली’ पछि उनीहरूको सहकार्यमा सात वर्षको अन्तराल आएको थियो।
अनुप विक्रम शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले अहिलेसम्मको करिअरमा नभोगेको नयाँ र चुनौतीपूर्ण चरित्र निर्वाह गर्दैछन्, जसका लागि उनी तयारीमा जुटेका छन्।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्ट को सह–निर्माणमा बन्ने चलचित्र ‘सुम्निमा’ को नामले नारीप्रधान कथा संकेत गरे पनि, यो शुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले जानकारी दिएका छन्।
चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन पहिल्यै अनुबन्धित भइसकेका छन्। अन्य कलाकार र प्राविधिक टोलीको छनोट प्रक्रियामा रहेको पनि निर्देशकले जनाएका छन्।
राजीव थापा को लेखनमा तयार हुने यो फिल्मको छायांकन अगस्ट महिनामा लन्डन र नेपालमा हुनेछ।
यसअघि मिलन चाम्स निर्देशित बायोपिक चलचित्र ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गर्दै नेपाली बायोपिक विधामा सबैभन्दा धेरै आम्दानी गर्ने कीर्तिमान राखेको थियो।
निर्देशक चाम्सका अनुसार, ‘सुम्निमा’ पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ।