चर्चित अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो।
यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका थिए। अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ। निर्देशकका अनुसार अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी छ।
फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा सुपरहिट फिल्म ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगर छन्। निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो।
फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ।
निर्माण पक्षका अनुसार फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ। कलाकारहरूको बलियो संयोजन र नयाँपनले भरिएको कथाले गर्दा ‘मितज्यू’ नेपाली फिल्म बजारमा बहुप्रतीक्षित प्रोजेक्टको रूपमा हेरिन थालेको छ।
