‘मोहर’ ट्रेलर सार्वजनिक, प्रेम, विछोड र बदलासँगै देउकी प्रथाको कथावस्तु

0 Shares

सस्पेन्स, थ्रिलर, प्रेम, विछोड र बदलाको मिश्रणमा बनेको नेपाली फिल्म **‘मोहर’**को ट्रेलर सार्वजनिक भएको छ।

साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्मलाई फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण गरिएको हो। ओम प्रतिकको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्।

ट्रेलरमा मुख्य रूपमा पल शाह, बेनिशा हमाल, नीति शाह, लक्ष्मी गिरी, अर्जुन जंग शाही, र बाल कलाकार सारा शर्माको वरिपरी कथा केन्द्रित देखिन्छ। देउकी प्रथालाई मूल विषय बनाएर तयार गरिएको फिल्मले गहिरो सामाजिक सन्देश बोकेको छ।

पल शाहको बेनिशा र नीतिसँगको सम्बन्धले भावनात्मक त्रिकोण प्रस्तुत गरेको छ भने बालिकालाई देउकी बनाउने प्रथाविरुद्धको कथा सशक्त रूपमा उठाइएको छ।

ट्रेलरले रहस्य, द्वन्द्व, प्रेम र सामाजिक न्यायका पाटाहरू समेट्दै दर्शकको चासो बढाएको छ। यसअघि सार्वजनिक दुई गीत र टिजरले चर्चा कमाइरहेका बेला ट्रेलरले अझै उत्सुकता बढाएको छ।

फिल्ममा मिथिला शर्मा, रविन्द्र झा, मिस पबी, सुशिल देवकोटा, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापालगायत कलाकारको समेत अभिनय रहेको छ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् भने दीपेन बस्न्यातको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत रहेको छ। ट्रेलर साहिल खानले तयार पारेका हुन्।

कोरियोग्राफी रामजी लामिछाने र कविराज गहतराजले गरेका छन् भने एक्सन निर्देशन कुमार महर्जनको रहेको छ।

फिल्मको शीर्षकअनुसार, ‘मोहर’ केवल प्रतीकात्मक होइन, कथामा त्यसको गहिरो महत्व रहेको देखिन्छ। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै