फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ का दुई पोस्टर सार्वजनिक भएका छन्। निर्माण पक्षले सोमबार सार्वजनिक गरेका पोस्टरमा फिल्मका प्रमुख पात्रहरूलाई फरक मनोवस्थामा प्रस्तुत गरिएको छ।
पहिलो पोस्टरमा कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, किरण श्रेष्ठसहित अन्य दुई कलाकार देखिएका छन्। किरणबाहेक सबैको अनुहारमा तनाव झल्किएको छ। एक पात्रलाई हतकडी लगाइएको छ भने प्रहरी कार्यालयमा अधिकारीले सोधपुछ गरिरहेको दृश्य देखिन्छ। छेउमै एक प्रहरी जवान सुरक्षाका लागि उभिएका छन्। यस पोस्टरमार्फत फिल्मका चरित्रको लुक्स र कथाको झल्को दिन खोजिएको छ।
दोस्रो पोस्टरमा कामेश्वर र लक्ष्मी कुनै मन्दिरमा आरती सल्काउँदै गरेको दृश्य छ। दुवैको अनुहारमा हर्षको भाव छ र लक्ष्मीको पोशाक तथा मुद्राले उनीहरू नवविवाहित जोडी जस्ता देखिन्छन्।
यी पोस्टरहरूले पात्रहरूको सम्बन्ध र मनोविज्ञानमा आधारित द्वन्द्वलाई संकेत गर्दै सस्पेन्स निर्माण गर्ने प्रयास गरेका छन्। केही दिनअघि सार्वजनिक गरिएको मोसन टिजरले पैसाका लागि गरिने संघर्ष र त्यसको मनोवैज्ञानिक प्रभावलाई संकेत गरेको थियो।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर–१’ सुशान्त गौतमको निर्देशनमा बनेको हो, जुन उनको डेब्यु निर्देशन हो। फिल्मको कथा लेखन मुकेश खनालले गरेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन्।
फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ।
भदौ २७ गते नेपाली संस्करण रिलिज हुने फिल्मको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन हुने निर्माता विनोद पौडेलले जनाएका छन्।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
फिल्मको डीओपी शरद महतो, सम्पादक मदन घिमिरे, रंग सम्योजन सुप्रिम पराजुली र भीएफएक्स मनोज श्रेष्ठले गरेका छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्।

