‘सुम्निमा’मा अडिसनबाट चयन भए अनिकेत, यस्तो छ उनको प्रोफाइल

0 Shares

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको प्रेमकथानक फिल्म ‘सुम्निमा’मा नवअभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्।

भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’का प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए। उनी स्प्लिट्सभिल्लाको १४औं संस्करणमा उत्कृष्ट आठभित्र पर्न सफल भएका थिए।

नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेराअगाडिको प्रस्तुतिले निर्माण टिमलाई आकर्षित गरेको निर्देशक चाम्सको भनाइ छ। ‘सुम्निमा’मार्फत अनिकेत पाख्रिन लामाले नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्नेछन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा बन्ने फिल्म ‘सुम्निमा’ विशुद्ध प्रेमकथामा आधारित रहनेछ। यद्यपि शीर्षकले नारीप्रधान कथा झल्काए पनि कथा भने प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित हुने निर्देशक चाम्स बताउँछन्।

यसअघि अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप बिक्रम शाही फिल्ममा अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको छनोट प्रक्रिया जारी रहेको छ।

फिल्मको पटकथा राजीव थापाले लेखेका हुन् भने छायांकन आगामी अगस्टदेखि लन्डन र नेपालमा सुरु हुने तयारी छ। निर्देशक चाम्सको पछिल्लो बायोपिक फिल्म ‘अञ्जिला’ले बक्स अफिसमा सफलता पाउँदै नेपाली बायोपिक विधामा नयाँ कीर्तिमान बनाएको थियो।

त्यसैले ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गर्न लागिएको निर्देशक चाम्सको भनाइ छ।

सम्बन्धित समाचार

सबै