‘चिट्ठी’ को “सिन्दुरको रंग” बोलको गीत सार्वजनिक

0 Shares

 २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिट्ठी’को दोस्रो गीत ‘सिन्दुरको रंग’ एक समारोहका बीच सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी र कलाकारहरूको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको थियो।

एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई माधव राज खरेलले निर्देशन गरेका हुन्। कुवेर डिस्टिब्युटर्स प्रा.लि.ले वितरण गर्ने चलचित्र ‘चिट्ठी’ हरर र कमेडी विधामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ। सार्वजनिक गरिएको गीत ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना पति प्रतिको आस्था र श्रद्धालाई विम्बित गर्न खोजिएको छ।

उक्त गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत र गायिका बेनिषा पौडेलको स्वर रहेको छ। निर्देशक खरेलका अनुसार, ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तरआत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ। गीतको भिडियोमा चलचित्रका अभिनेता संजीत भण्डारी र कञ्चन चालिसेले अभिनय गरेका छन् भने गायिका पौडेल स्वयं पनि गीतमा देखिएकी छिन्।

चलचित्रको कथा युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र अदृश्य आत्माबीचको अन्तरद्वन्द्वमा आधारित रहेको बताइएको छ। सामाजिक यथार्थ, निकायगत विकृति, मानवीय प्रवृत्ति र पारिवारिक भावना समेटिएको चलचित्र ‘चिट्ठी’ समसामयिक सन्देशसहित दर्शकमाझ फरक स्वाद ल्याउने उद्देश्यले निर्माण गरिएको हो।

चलचित्रमा अर्गानिक कमेडियनका रूपमा चर्चित खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कविन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की र रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन्। चलचित्रको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका हुन्। भीएफएक्स समिर मियाँले, ध्वनि सम्पादन मनोज परियारले र ५.१ ध्वनि मिश्रण अमित श्रेष्ठले गरेका हुन्। चलचित्रमा रहेको अर्को गीत ‘टुटेको तारा’ मा डा. कृष्णहरि बरालको शब्द, शिव परियार र सरोज कोइरालाको संगीत थियो भने ‘शिवताण्डव’मा बसन्त अर्यालको स्वर समावेश गरिएको छ। शिवताण्डव गीतको संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका हुन् भने चलचित्रको द्वन्द्व निर्देशन किरण दाहालको रहेको छ। पृष्ठभूमि संगीत पुष्कर खत्रीले तयार गरेका हुन्।

सञ्चारकर्मीहरूसँगको भेटघाटमा चलचित्रसँग आवद्ध कलाकार, निर्माता, संगीतकर्मी लगायतले गीत र चलचित्रको सन्दर्भमा धारणा व्यक्त गरेका थिए। चलचित्र ‘चिट्ठी’ यही भदौ २० गते (सेप्टेम्बर ५, २०२५) बाट देशभर प्रदर्शनमा आउँदैछ।

सम्बन्धित समाचार

सबै