ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशन रहने सिनेमा ‘झिँगेदाउ २’ को गीत रेकर्डिङ गरिएको छ। बुधबार पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार तथा गायक बसन्त थापाको स्वरमा ‘आजलाई नाइ नभन’ गीत रेकर्ड गरिएको हो।
गायक थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक नेपाली सिनेमा गीतमा पाश्र्व गायन गरेका हुन्। यो गीतमा संगीतकार अर्जुन पोखरेलको नै शब्द, संगीत र एरेञ्ज रहेको छ। गायक थापा र संगीतकार पोखरेलबीच यो पहिलो सहकार्य हो।
गायिका परियार, निर्देशक देउजा र संगीतकार पोखरेलले यसअघि ‘झिँगेदाउ’को हिट गीत ‘आगो बिना बिँडी जल्दैन’ मा सहकार्य गरेका थिए। सोही सफलता दोहोर्याउने अपेक्षासहित निर्देशक देउजाले ‘झिँगेदाउ २’ मा पनि गायिका परियारलाई ‘लक्की चार्म’का रूपमा राखेका हुन्। अबको १० दिनभित्र गीतसहित सिनेमाको सम्पूर्ण प्रि-प्रोडक्सन कार्य सकिने र दशैं–तिहार लगत्तै छायांकन सुरु गर्ने तयारी निर्माण टिमको छ।
यो सिनेमा पहिलो भाग जहाँ सकिएको थियो, त्यहीँबाट सुरु हुने भएकाले ‘झिँगेदाउ २’ पूर्ण रूपमा सिक्वेल रहेको निर्देशक देउजाले जानकारी दिएका छन्। सिनेमाको मुख्य भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्टसहित पहिलो भागका अधिकांश कलाकार दोहोरिनेछन्। साथै, एक नयाँ अभिनेता र एक नयाँ अभिनेत्रीको पनि प्रवेश हुने छ।
कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको सिनेमामा बिष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहनेछ।