धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

0 Shares

गत वर्ष असोज ३ गतेबाट प्रदर्शनमा आएको चर्चित फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगर अब नयाँ फिल्म ‘जलाकी’ निर्माण गर्दै छन्। फिल्मको केही भाग छायांकन गत चैतमै भइसकेको छ भने दोस्रो चरणको छायांकन असोज २१ गतेबाट सुरु हुने तयारी भइरहेको निर्माण टिमले जनाएको छ।

‘खुस्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीले राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। निर्देशक थापा मगरको नयाँ फिल्म ‘जलाकी’मा पनि उपासनाले नै मुख्य भूमिका निभाउँदैछिन्। यसपटक उनी धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन्। ‘खुस्मा’ मा पनि उनी धिरजसँगै जोडी बाँधिएको कारणले गर्दा ‘जलाकी’ मा उनीहरूको जोडी पुनः एक पटक दर्शकको प्रतीक्षामा रहने देखिन्छ।

सोमबार सार्वजनिक गरिएको दुई पोस्टरमा धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन्।

यस फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यू गर्दैछिन्।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्ममा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायत कलाकारको अभिनय रहनेछ। अन्य कलाकारको छनोट प्रक्रियामा रहेको निर्माण पक्षले जानकारी दिएको छ।

‘जलाकी’ शब्द मगर समुदायमा आस्थाको प्रतीक स्तम्भको रूपमा चिनिन्छ। यो मायाको प्रतीक, सम्झनाको चिनो र सांस्कृतिक भावनाको प्रतिनिधित्व गर्ने कथावस्तुमा आधारित फिल्म हो। निर्देशक थापा मगरका अनुसार फिल्म तीन चरणमा छायांकन गरिनेछ — पहिलो र दोश्रो नेपालका विभिन्न स्थानहरूमा र तेस्रो चरण दक्षिण कोरियामा।

रुकुम, रोल्पा, म्याग्दी, बागलुङ, पोखरा लगायत क्षेत्र र दक्षिण कोरियामा हुने छायांकनबाट फिल्मले मगर र गुरुङ समुदायको संस्कृति र जीवनशैली झल्काउने अपेक्षा गरिएको छ।

फिल्मका निर्माताहरूमा ओम घर्ति मगर, बीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

एम मिडिया प्रा.लि. को ब्यानरमा निर्माण हुने फिल्मका DOP शैलेन्द्र डी. कार्की हुन्। राजु रेग्मी मगर लाइन प्रोड्युसर हुन् भने महेश बराल मुख्य सहायक निर्देशकको रूपमा छन्। संगीतमा एसडी योगी र सरित राई, गीतमा सुरेन्द्र राना र राम अविरल विष्ट छन्।

निर्देशक थापा मगरको डेब्यु फिल्म ‘खुस्मा’ मा समावेश गीत ‘रुकुम मैकोट’ युट्युबमा ५ महिनामै १० करोड भ्युज पाउने पहिलो नेपाली गीत बनेको थियो।

सम्बन्धित समाचार

सबै