‘अभिमन्यु : च्याप्टर–१’को भावनात्मक गीत ‘माली’ सार्वजनिक

0 Shares

 चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को भावनात्मक गीत ‘माली’ सार्वजनिक गरिएको छ। निर्माणपक्षले यो गीत आज सार्वजनिक गर्दै रक्षाबन्धनको अवसरमा भिडियो प्रतिस्पर्धाको समेत घोषणा गरेको छ।

गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ भने विषम आचार्यले संगीत संयोजन गरेका छन्। प्रशान्त शिवाकोटी यसअघि ‘पूर्णबहादुरको सारङ्गी’ का चर्चित गीतहरू गाउने संगीतकर्मी पनि हुन्।

‘माली’ गीतमा दाजु र बहिनीबीचको निश्चल सम्बन्ध, मायालु बन्धन र जिम्मेवारीको भाव प्रस्तुत गरिएको छ। दाजुले बहिनीलाई माली (फूलबारी हेरचाह गर्ने व्यक्ति) जस्तै संरक्षण गर्ने भावनालाई गीतमार्फत व्यक्त गरिएको छ।

निर्माणपक्षका अनुसार रक्षाबन्धनलाई ध्यानमा राखेर गीत रिलिज गरिएको हो। साथसाथै, भिडियो प्रतिस्पर्धा पनि सुरु गरिएको छ। निर्माण टिमले भनेको छः

“दाजुभाइ–दिदीबहिनीहरूले राखी बाँधेको भिडियो बनाएर यो गीतमा प्रयोग गरी सेयर गर्न अनुरोध गर्छौं। उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।”

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपालीमा रिलिज हुँदैछ भने हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज हुने निर्माणपक्षले जनाएको छ।

पोस्ट–प्रोडक्सनमा रहेको यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाको मुख्य भूमिका छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को निर्देशन सुशान्त गौतमले गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो।

मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन, विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन्।

कार्यकारी निर्माताहरूमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। फिल्ममा जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली कलर ग्रेडिङ, मदन घिमिरे सम्पादन र शरद महतो डिओपी रहेका छन्।

सम्बन्धित समाचार

सबै