समीरको ‘बलिदान’ले रिलिज गर्यो चार प्रमुख पात्रहरूको क्यारेक्टर पोस्टर, हेर्नुस् को कस्ता देखिए ?

0 Shares

 दसैँको फूलपातीको अवसर पारेर बहुप्रतीक्षित नेपाली फिल्म *‘बलिदान’*ले आफ्नो प्रचार अभियानलाई तीव्र बनाउँदै चार प्रमुख पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ।

बुधवार सार्वजनिक पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको पात्रलाई पहिलोपटक दर्शकमाझ प्रस्तुत गरिएको हो।

निर्देशक सेनका अनुसार टिजरभन्दा अघि यी चार प्रभावशाली पात्रलाई प्रस्तुत गर्नुको उद्देश्य कथामा उनीहरूले छोड्ने गहिरो प्रभावलाई दर्शाउनु हो। उनले भने, “यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू समाजका कुनाकाप्चामा लुकेको आवाज हुन्।”

हेमन्त बुढाथोकी फिल्ममा खलनायकको रुपमा देखिंदै छन्, जसको उपस्थितिले कथामा कम्पन ल्याउने निर्देशकको भनाइ छ।
अर्पण थापाको पात्र पीडा, विद्रोह र सत्यताको भाव बोकेको छ, जसले ‘आँखाबाटै संवाद बोल्ने’ प्रभाव दिने निर्देशकको भनाइ छ।
ऋचा शर्मा एक संवेदनशील पात्रका रूपमा प्रस्तुत भएकी छन्, जसले समाजको असली मर्म उजागर गर्छिन्।
सन्तोष सेन आफैँ पनि फिल्ममा देखिँदैछन्, जसको पात्र “कथाभित्र मात्र होइन, समाजलाई नै परिभाषित गर्ने” बताइएको छ।

यसअघि अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको पोस्टर सार्वजनिक भइसकेको छ। साथै, सौगात मल्लको रहस्यमय अवतार र समीरको जन्मदिनमा सार्वजनिक गरिएको प्रि-टिजरले समेत चर्चा बटुलेको थियो।

फिल्मको प्रचारलाई नयाँ उचाइमा पुर्‍याउँदै निर्माण टिमले देशभर ‘बलिदान ब्यानर’ अभियानसमेत सञ्चालन गरिरहेको छ।

**‘आसुसेन फिल्म्स् प्रा.लि.’**को ब्यानरमा बनेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। निर्देशक सेनका अनुसार ‘बलिदान’ नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यसहित तयार पारिएको फरक कथावस्तु भएको फिल्म हो।

सम्बन्धित समाचार

सबै