भरत थापा भ्रष्टाचारी ठहरिँदा खगेन्द्र-दीपेन्द्रको ‘मेयर’ रिलिज झन् अनिश्चित

0 Shares

ठूलो प्रोडक्सन भ्यालु बोकेको र ११ हजारको भीड जम्मा पारेर बनाइएको फिल्म भनेर निर्माणताका निकै हल्लाखल्ला गरिएको वायोपिक फिल्म ‘मेयर’का वास्तविक पात्र अर्थात् सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत थापा भ्रष्टाचारी ठहरिएका छन्।

विशेष अदालतले भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ बराबरको नदीजन्य पदार्थको हानि–नोक्सानी भएको ठहर गरेको छ। अदालतले थापासहित विमलकुमार पोखरेल र सागर पौडेलले भरत ताल निर्माणको क्रममा भ्रष्टाचार गरेको ठहर गरेको हो भने उपमेयर लीलाकुमारी मोक्तानसहित विश्वराज पोखरेल र मेथुर चौधरी भने सफाइ पाएका छन्।

बुधबार आएको यो फैसलाले आफूलाई नायकका रूपमा स्थापित गराउन थापाले बनाएको वायोपिक ‘मेयर’को भविष्य अझै अनिश्चित बनाएको छ।

फिल्म दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने थापाको चरित्रमा खगेन्द्र लामिछानेले अभिनय गरेका छन्।

यस्तै फिल्ममा खगेन्द्रका अलावा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतले अभिनय गरेका छन्।

यसै फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापा डेब्यू अभिनेत्री बन्दै थिइन्।

फिल्म घोषणाका बेलामा ‘मेयर’ले केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना बोकेको मान्छेले कठिन परिस्थिति, घात–प्रतिघातका बीचमा संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रूपमा कसरी राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषय उठान गर्ने निर्माण पक्षले बताएको थियो। तर अदालतको फैसलाले यो फिल्म निर्माण कतै ‘स्क्याम’ त थिएन भन्ने प्रश्न उब्जाएको छ।

त्यस्तै भरत थापामाथि थप दुई मुद्दा विचाराधीन रहेका छन्। उनीमाथि सर्लाहीमा वनसम्बन्धी मुद्दा र आँप बगैँचाको आवरणमा प्रदेशबाट ल्याइएको रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको अर्को मुद्दा पनि छन्।

सम्बन्धित समाचार

सबै