नीताको ‘सुख दुःख’मा विपना थापा

0 Shares

अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म *‘सुख दुःख’*मा विपना थापा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो।

यसअघि नीता र विपनाले फिल्म *‘ह्रस्वदीर्घ’*मा सहकार्य गरेका थिए। यो उनीहरूको दोस्रो सहकार्य हो। विपनाले फिल्म *‘सुख दुःख’*मा आफू पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताइन्। उनले फिल्मको कथाले नै आफूलाई मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा असाध्यै उत्साहित भएको बताइन्।

नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुबन्ध गर्न पाउँदा असाध्यै खुसी लागेको बताइन्। उनका अनुसार यो फिल्ममा विपनाको महत्वपूर्ण भूमिका रहेको छ।

नीताले यसअघि यो फिल्मका लागि कलाकारका रूपमा मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठलाई अनुबन्ध गरिसकेकी छन्। यस फिल्मका अन्य कलाकार र प्राविधिक पक्षको बारेमा विस्तारै जानकारी दिँदै जाने निर्देशक अधिकारीको भनाइ छ।

आगामी फागुनबाट छायांकनमा जान लागेको यो फिल्मलाई चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलालले छायांकन गर्दैछन्। *‘नीता फिल्म्स’*को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउनेछ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

सम्बन्धित समाचार

सबै