‘जदौ’ फिल्ममा नव–अभिनेत्री राजश्री थापा अनुबन्धित भएकी छन्। मोडलिङ तथा स्टाइलिस्टको रूपमा सक्रिय राजश्रीले गायक सुशान्त केसीको एक गीतमा अभिनय गरिसकेकी छन्। राजश्रीको ‘इन्ट्री’सँगै ‘जदौ’ को कलाकारहरूको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
काजी लिम्बू र अन्जन शर्माको संयुक्त निर्देशनमा बन्ने यस फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, गीता अधिकारी, शारदा गिरी, सन्ध्या श्रेष्ठ, अनिल सुब्बा लगायतका कलाकारले अभिनय गर्नेछन्। अन्तरजातीय प्रेमसम्बन्ध र सामाजिक कुरितीविरुद्धको आवाज बुलन्द गर्ने विषयवस्तुमा आधारित फिल्म दाङ र प्युठानका विभिन्न स्थानमा छायांकन गरिनेछ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने यस फिल्मको सह–निर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, गोकुल केसी र नारायण शास्त्री रहेका छन्।
बुद्धि माझीको निर्माण व्यवस्थापनमा तयार हुने फिल्मको छायांकन श्याम तामाङले गर्नेछन्।
काजी लिम्बूको लेखन रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ भने द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गर्नेछन्।
फिल्मको सुटिङ भदौको पहिलो सातादेखि सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले दिएकी छन्।