फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म ‘मोहर’ शुक्रबारदेखि रिलिजमा आएको छ। रिलिजसँगै फिल्मले दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ पाइरहेको छ।
आज बिहानै औसत अकुपेन्सीमा प्रदर्शन सुरु भएको यो फिल्मले सकारात्मक प्रतिक्रिया पाएसँगै व्यापार बढ्नेमा वितरक करण श्रेष्ठ आशावादी देखिएका छन्। चुम्बन जंग शाही निर्माताको रूपमा रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ। फिल्मको कथावस्तु, पल शाह, बेनिशा हमाल र नीति शाहबीचको प्रेमकथा, साथै देउकी प्रथाको विषय दर्शकले मन पराइरहेका छन्।
आज बिहान आयोजित विशेष शोमा फिल्म हेरेका अधिकांश पत्रकार र दर्शकले ‘मोहर’ अपेक्षाभन्दा धेरै राम्रो बनेको प्रतिक्रिया दिए। उत्कृष्ट प्रतिक्रिया पाएपछि नायक पल शाह भावुक बने। काठमाडौंको बिग मुभिजमा पुगेका पलले आफू बोल्न नसक्ने अवस्थामा रहेको बताए। उनले भने, “अहिले म बोल्न सकिरहेको छैन। एउटा कलाकारका लागि निर्देशक र टिम बलियो हुनु आवश्यक हुन्छ। यसपटक हामीले निकै मिहिनेत गरेका थियौं र दर्शकको प्रतिक्रियाबाट त्यो सफल भएको महसुस भएको छ।”
नायिका नीति शाह पनि भावुक देखिइन्। अघिल्ला फिल्ममा उनको कामको आलोचना भएपनि यस फिल्ममा भने उनको प्रशंसा भइरहेको छ। नीतिले आफू यो क्षेत्रमा केही गर्न चाहेकाले निरन्तर मिहिनेत गरिरहेको बताइन्।
निर्माता चुम्बन जंग शाहीले फिल्मको व्यापार भोलिका दिनमा बढ्ने विश्वास व्यक्त गरे। यसैगरी, नायिका बेनिशा हमालको कामको पनि प्रशंसा भइरहेको छ। बेनिशाले पनि दर्शकबाट पाएको प्रतिक्रियाले आफू भावुक बनेको सुनाइन्।
‘मोहर’ ले देउकी प्रथालाई मुख्य कथावस्तु बनाएको छ, तर पल, बेनिशा र नीताको त्रिकोणात्मक प्रेमकथाले दर्शकलाई बाँधेर राख्ने विश्वास निर्माण पक्षको छ। फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय छ।